तानसेन । ‘पाल्पा महोत्सव’को छैठौ दिन मंगलबार गायिका एलिना चौहानको प्रस्तुती रहनेछ । पछिल्लो पुस्ताकी चर्चित गायिका उनले तानसेनमा पहिलो पटक प्रस्तुति दिन लागेकी हुन् ।
‘के माया लाग्छ र…’बाट चर्चामा आएकी उनका ‘यो भाग्यमा खोट छ…’, ‘मिनरल वाटर’, ‘धोकेबाज हौँ तिमी’ जस्ता गीत निकै चर्चित छन् । ‘धोकेबाज हौँ तिमी’उनको पछिल्लो सर्वाधिक चर्चित गीत मानिन्छ ।
छोटो समयमा निकै चर्चा कमाएकी एलिनाका फ्यान फ्लोइङ देशदेखि विदेशसम्म छन् । विशेषगरी युवा पुस्ताका स्रोता दर्शकले उनका गीत निकै रुचाएका छन् । चर्चित यि गायिकाको प्रस्तुति हेर्न महोत्सवमा दर्शकको भीड लाग्ने अनुमान आयोजकको छ ।
मंगलवार उनीसँगै लोकगायक रामचन्द्र चन्द, गायिका श्रीदेवी देवकोटा, गायक नारायण लेकाली, दामोदर बस्याल लगायतको प्रस्तुती रहने सांस्कृतिक उपसमितिका संयोजक भीमबहादुर श्रेष्ठले जानकारी दिएका छन् ।
त्यस्तै, विभिन्न कलाकेन्द्रहरुको नृत्य प्रस्तुति मंगलवार पनि हुनेछ । महोत्सव २४ वैशाखसम्म चल्नेछ ।