
तानसेन । पाल्पामा जारी ‘पाल्पा महोत्सव’मा शनिवार दर्शकको मुख्य आकर्षणका रुपमा गायक रामजी खाँण हुने भएका छन् ।
महोत्सवको दशौं दिनको मुख्य आकर्षणका रुपमा रामजीले दर्शकलाई नचाउने भएका हुन् ।
सदरमुकाम तानसेनमा जारी महोत्सवमा यी चर्चित गायकले आफ्ना नयाँ पुराना हिट गीतहरु प्रस्तुत गर्नेछन् ।
शनिवार नै रामजीसँगै चर्चित गायक अर्जुन कौशल पनि दर्शकको आकर्षणको रुपमा रहनेछन् । अर्जुनका गीतमा पनि शनिवार दर्शक झुम्नेछन् ।
त्यस्तै, शनिवार चर्चित गायिका जमुना राना, गायक श्रीकृष्ण क्षेत्री लगायतका राष्ट्रिय स्तरका कलाकारहरुको समेत प्रस्तुति रहनेछ ।
यसैगरी, हास्य कलाकार विजय बम्डेल ‘मंगले’ र कमल भट्टराई ‘आस्कोटे बा’को हास्य प्रस्तुतिका साथमा भजन गायक जयप्रकाश उप्रेतीले प्रस्तुति पनि शनिवार रहने सांस्कृतिक संयोजक भीमबहादुर श्रेष्ठले जानकारी दिए ।
कार्यक्रमलाई संचालन भने चर्चित उद्घोषिका एवं गायिका मञ्जु पौडेलले गर्नेछिन् ।
पाल्पा उद्योग वाणिज्य संघले वैशाख १४ गतेबाट महोत्सव सुरु गरेको हो । वैशाख २४ गतेसम्म महोत्सव चल्नेछ ।