काठमाडाैं। सरकारले वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरूले थप एउटा मोबाइल फोन ल्याउन पाउने व्यवस्था गरेको छ।

मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले थप एउटा मोबाइल फोन ल्याउन पाउने‍ व्यवस्था गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन‍्।

पहिले पाइरहेको सुविधाबाहेक थप अर्को एउटा फोन पनि ल्याउन पाउने निर्णय भएको उनले बताइन्। यसअघि बाहिरबाट फोन ल्याउँदा खेरी आफूले चलाइरहेको मात्र फोन ल्याउन पाइन्थ्यो थप अर्को ल्याए १८ प्रतिशत कर तिर्नुपर्ने व्यवस्था थियो। त्यसको चौतर्फी विरोध भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसलाई तत्काल लागु नगर्न निर्देशन दिएका थिए।

यस्तै, एमडिएमएस व्यवस्था पनि लागू गर्ने निर्णय भएको उनले जानकारी दिइन्। सरकारले सहकारी क्षेत्रको समग्र सुधारका निम्ति कार्यदल गठन गरेको छ । त्यसैगरी सरकारले नेपाल कृषि वन सेवा समीकरणको सचिव पदमा रेवतीरमण पौडेललाई बढुवा गर्नुका साथै झिटिगुन्टासम्बन्धी नियमावलीलाई संशोधन गर्ने भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकबारे जानकारी दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले कोहलपुर वितरणका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने भन्ने निर्णय गरिएको बताइन्।

यस्तै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको प्रस्तावमा ढल्केबर–वाणगङ्गा १३२ केभी प्रसारण लाइन निर्माणका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउन अधिकारी तोक्ने भन्ने निर्णय भएको मन्त्री शर्माले भनिन् ।

मन्त्रिपरिषद्को बैठकले कोहलपुर वितरण केन्द्रका लागि जग्गा प्राप्ति गर्ने र प्राविधिक कारबाही चलाउनको निम्ति सम्बन्धित प्रशासकीय अधिकृत अधिकारीलाई तोक्ने पनि निर्णय गरेको छ ।

यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रस्तावमा इसमिट बोर्ड अफ गभर्नमेन्स मिटिङमा सहभागी हुनका लागि योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठलाई स्वीकृति दिने पनि निर्णय भएको छ ।

तपाईको प्रतिक्रिया