तानसेन ।पाल्पाको रामपुर नगरपालिका–९, जब्गादीको मधुकोटमा लागेको डढेलो निभाउने क्रममा दुई जना घाइते भएका छन् । जंगलमा लागेको डढेलो मधुकोट गाउँमा पसेपछि निभाउने प्रयास गर्दा स्थानीय दलबहादुर साठीघरे र उनको बुहारी लक्ष्मी साठीघरे घाइते भएको प्रहरीले जनाएको छ ।

डढेलो बस्तीमा पसेपछि निभाउने क्रममा घाइते भएका उनीहरुलाई उपचारका लागि रामपुर अस्पताल लगिएको छ ।

डढेलो बस्तीमा पसेपछि मधुकोट गाउँका पाँच घरगोठ जलेर नष्ट भएको वडाध्यक्ष डिलबहादुर रानाले जानकारी दिए। मंगलबार दिउँसोदेेेेखि गाउँ नजिकैको जंगलमा लागेको डढेलो बस्तीमा पसेको थियो ।

डढेलोबाट दलबहादुर साठीघरे, ऐतुराम साठीघरे, खेम बहादुर साठीघरेको एक/एक, लोकबहादुर साठीघरेको दुईवटा घर जलेर नष्ट भएको वडाध्यक्ष रानाले बताए ।

लोकबहादुरका दुई मध्य एक घरमा आंशिक क्षति भएको छ । आगलागीबाट घरमा रहेका अन्न, लत्ताकपडा, नगद तथा गरगहना सबै जलेर नष्ट भएको छ भने  केही पशु चौपाया पनि आगलागीमा परेका छ्न।

प्रहरी, नेपाली सेना, जनप्रतिनिधि र स्थानीयको सहयोगमा मंगलबार राति अबेर आगलागी नियन्त्रणमा आएको छ ।

जंगलको डढेलो भने लागिरहेको छ ।आगलागीबाट पीडित परिवारमध्ये केहीलाई छिमेकी र कतिपयलाई स्थानीय सिद्ध प्राथमिक विद्यालयमा बस्ने व्यवस्था मिलाइएको छ।

तपाईको प्रतिक्रिया