टुंडिखेलमा कर्णेल उजीर सिंह पाल्पा गोल्डकप हुने

तानसेन।  पाल्पा जिल्ला फुटबल संघले कर्णेल उजीर सिंह पाल्पा गोल्डकप फुटबल प्रतियोगिता गर्ने घोषणा गरेको छ । तानसेनको टुंडिखेलमा जेठ १२ गतेदेखि प्रतियोगिता हुने भएको हो ।

पाल्पा जिल्ला फुटबल संघका अध्यक्ष प्रणयजंग राणाका अनुसार पाल्पा जिल्ला खेलकुद विकास समिति र अखिल नेपाल फुटबल संघ एन्फाको समन्वयमा सञ्चालन हुने प्रतियोगितामा पाल्पा उद्योग वाणिज्य संघ, तानसेन नगरपालिका र प्रदेश खेलकुद परिषद्, लुम्बिनीको सहयोग रहनेछ ।

प्रतियोगितामा पाल्पासंगै रुपन्देही, नवलपरासी, कपिलवस्तु, बाँके, स्याङ्गजा, कास्की, चितवन र काठमाडौका गरी १६ टिमको सहभागीता रहने आयोजकले जनाएको छ। पाल्पामा झण्डै ३३ वर्षपछि राष्ट्रियस्तरको फुटबल प्रतियोगिता आयोजना हुन लागेको हो।

प्रतियोगितामा प्रथम हुने टिमले नगद ३ लाख, पाल्पाली करुवा ट्रफी र मेडल पाउनेछन् । यस्तै दोस्रो हुने टिमले नगद १ लाख ५० हजार, पाल्पाली करुवा ट्रफी, मेडल र प्रमाणपत्र पाउने पाल्पा जिल्ला फुटबल संघका अध्यक्ष राणाले बताउनुभयो । प्रतियोगितामा प्रत्येक दिनको म्यान अफ दि म्याचलाई नगद ३ हजार दिइने छ ।उत्कृष्ट गोल रक्षक, डिफेण्डर, सर्वश्रेष्ठ खेलाडी, सर्वाधिक गोलकर्तालाई नगद ६ हजार प्रदान गरिनेछ ।

संघले प्रतियोगिताको मुख्य प्रायोजकको लागि ७ लाख, सह–प्रायोजकका लागि ४ लाख र व्यानरका लागि १५ हजार सहयोगको अपेक्षा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष राणाले जानकारी दिए ।

प्रतियोगिता सम्पन्न गर्न ५१ सदस्यीय मूल आयोजक समिति गठन गरेको छ । यस बाहेक विभिन्न आठ वटा विभिन्न उप–समिति गठन गरेर अघि बढेको जनाएको छ ।

प्रतियोगिताका लागि अखिल नेपाल फुटबलसंघलाई जानकारी गराइसकेको छ । एन्फाबाट आर्थिक सहयोग प्राप्त नभए पनि विभिन्न व्यक्ति, क्लब तथा स्थानीय निकायबाट सहयोग जुट्ने अध्यक्ष राणाले बताए । प्रतियोगितामा १३ वर्षसम्मको बालवालिकालाई निःशुल्क प्रवेश दिइने छ । अस्थायी प्याराफिटमा बस्ने दर्शकले ७० रुपैयाँ तिर्नुपर्ने छ ।

ग्राउण्डका दर्शकले ५० रुपैयाँ तिर्नु पर्नेछ, जेष्ठ नागरिक, विद्यार्थीलाई ५० प्रतिशत छुट दिइने बताइएको छ। । प्रतियोगिता अवधिभरका लागि २ हजार ५ सय रुपैयाँ तिर्नेले विशेष पास पाउनेछ । प्रतियोगितामा १५ खेल हुनेछ ।

पाल्पामा वर्षौदेखि सुस्ताएको फुटबल प्रतियोगितालाई नयाँ ढंगले अघि बढाउँदै युवालाई खेलमैत्री भावनाको विकासका लागि यो खेलले टेवा पुग्ने विश्वास गरिएको छ ।

तपाईको प्रतिक्रिया