तानसेनमा जेठ १२ गते रोजगार मेला हुने

तानसेन।  पाल्पा सदरमुकाममा रहेको तानसेन नगरपालिकाले वृत्ति विकास तथा रोजगार मेला गर्ने भएको छ । ज्ञान र सीप भएर पनि काम नगरी बसेका नगरवासीलाई मध्यनजर गर्दै नगरपालिकाले वृत्ति विकास तथा रोजगार मेला आयोजना गर्न लागेको हो ।

आफ्नो सीप र दक्षताअनुसारको रोजगारी प्रदान गर्न, रोजगारीका लागि आवश्यक सीप सिक्न तथा आफ्ना लागि आफैले रोजगारी सिर्जना गरी व्यवसाय सुरु गर्न नगरपालिकाले वृत्ति तथा रोजगार मेला आयोजना गर्ने तयारी गरेको मेला व्यवस्थापन उपसमितिका संयोजक प्रदीप खनालले जानकारी दिए।

नगरप्रमुखको संयोजकत्वमा कार्यपालिकाको सम्पूर्ण टीमसहित मूल आयोजक समिति गठन गरिएको र मेलाले पढ्दै गरेका विद्यार्थी तथा युवा लक्षित गरी उनीहरुलाई समयमै रोजगारी प्रदान गर्ने उद्देश्य राखेको छ ।

सीप सिक्ने तरिका, सिकाईका माध्यम, रोजगारी प्राप्त हुने स्थानहरु बारे जानकारीमूलक स्टलहरु रहनेछन् संयोजक खनालले बताए।

सीप सिक्न चाहेका र सीप सिकिसकेका व्यक्तिहरुले रोजगारी प्राप्त गर्न मेला सहयोग बन्ने हुँदा किशोरावस्थाका युवा घरपरिवार छाडेर विभिन्न मुलुक जाने गरेको हुँदा स्वदेशमै रोजगारी दिन र आत्मनिर्भर बन्नलाई नगरपालिकाले यस्तो योजना अघि सारेको जनाएको छ ।

आफ्नो मार्ग पहिचान गर्न, दिगो तथा सम्मानित रोजगारीका लागि सीप सिक्न, सीप सिकिसकेकाले रोजगारी प्राप्त गर्न, व्यवसायीले आफ्नो व्यसायअनुसारको जनशक्ति खोजी गर्न मेला आवश्यक रहेको पनि नगरपालिकाले जनाएको छ ।

जेठ १२ गते हुने एक दिने मेलामा विभिन्न सीपमूलक कार्यहरुका ३० वटा बढी स्टलहरु रहनेछन्।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer