तानसेन।  तिनाउ गाउँपलिकास्थित  नेपाल शिक्षक महासंघको दोस्रो अधिवेशन तिलोत्तमा माध्यमिक विद्यालय, झुम्सामा शनिवार सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल शिक्षक महासंघ पाल्पाका सचिव  ध्रुव न्यौपानेले शिक्षकहरुको छाता संगठनको रुपमा रहेको शिक्षक महासंघलाई गतिशील बनाई आफ्नो अधिकारका रुपमा स्थापित गराउनु पर्नेमा जोड दिए ।

विशिष्ट अतिथिका रुपमा रहेका वातावरणविद् विजय हितान मगरले नेपाली र बेलायती शिक्षाका बारेमा तुलनात्मक विश्लेषण गर्दै नेपालको वन,वातावरण र जैविक विविधता संरक्षणमा संसारमै उत्कृष्ट रहेको बताए ।

उक्त अधिवेशन कार्यक्रममा तिनाउ शिक्षा समितिका सदस्य दलबहादुर गुरुङले तिनाउको शैक्षिकस्तर उकास्नका लागि शिक्षक महासंघ कटिबद्ध भएर लाग्नुपर्नेमा जोड दिदै शैक्षिक वहसका निम्ति तिनाउ सरकार तयार रहेको बताए ।  शिक्षकहरु अधिकारसँगै आफ्नो कर्तव्यप्रति सचेत हुनुपर्नेमा दुई मत नरहेको उनले बताए ।

त्यसैगरी गाउँ शिक्षा समितिका सदस्य राजेश श्रेष्ठले तिनाउको शैक्षिक उन्नयन गर्नका लागि महासंघ अधिकारसम्पन्न हुनुपर्ने र गतिशील हुनुपर्नेमा जोड दिए ।

उक्त अधिवेशन कार्यक्रममा शिक्षकहरु श्रीनिवास गौतम, कृष्ण पाण्डेय, उमा पाण्डेय, धनबहादुर खाम्चा, शिव पाण्डेय, यादव बस्याल लगायतले अधिवेशन सफलताको शुभकामना र गतिशीलताको लागि उत्प्रेरणा ब्यक्त गरेका थिए ।

अधिवेशनले झविन्द्र ज्ञवाली अध्यक्ष, सहअध्यक्षमा श्रीनिवास गौतम, उपाध्यक्षमा माया पाण्डेय, ऋषि भण्डारी र सचिवमा पदमलाल शाक्य लगायतका  शिक्षकहरुको संलग्नतामा १७ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

तपाईको प्रतिक्रिया