अनुदानको मल निजी एग्रोभेटमा

तानसेन। पाल्पाको एक सहकारीले निजी एग्रोभेटबाट अनुदानाको मल बिक्रीका लागि दिएको खुलासा भएको छ । रामपुरको हराभरा कृषि सहकारीले अनुदानको मल एग्रोभेट पसललाई मल बिक्री गरेको हो ।

रामपुर नगरपालिका वडा नं.–७, को हराभरा कृषि सहकारी संस्थाले किसानका लागि अनुदानमा प्राप्त मल एग्रोभेटलाई बिक्री गरेको स्थानीय उपभोक्ताले बताएका छन् । नेपाल सरकारले किसानलाई अनुदानमा दिएको मल सहकारीमार्फत किसानलाई वितरण गर्नुपर्नेमा स्याङ्जाको वालिङस्थित भकुण्डेको गरिमा एग्रोलाई मल बिक्री गरेर लादै गरेको बेलामा मलसहित गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

सहकारीमार्फत प्रतिबोरा एक हजार ५० रुपियाँका दरले बिक्री गरेको बीलसहित मल बरामद गरिएको वडा प्रहरी कार्यालय वालिङ्का प्रमुख इकवाल हवारीले जानकारी दिए । बरामद गरिएको मल रामपुर नै फिर्ता गरिएको हवारीले जानकारी दिए । गैरकानुनी रुपमा ल्याएको ४० बोरा मल नगरपालिकामा फिर्ता पठाइएको प्रहरीले जनाएको छ ।

रामपुर नगरपालिकाले हरभरा कृषि सहकारीलाई २०० बोरा मल उपलब्ध गराएको नगरपालिकाका कृषि शाखा प्रमुख रामहरी पाण्डेले बताए । नगरपालिकाले ढुवानी जोडेर प्रतिबोरा एक रुपियाँ मात्र नाफा लिएर किसानलाई बेच्न सहकारीलाई भनेको छ । रामपुर नगरपालिकाले नगरभित्रका सहकारीलाई पटक–पटक गरी पछिल्लो समय एक हजार १०० बोरा मल अनुदानमा उपलब्ध गराएको थियो ।

हराभरा कृषि सहकारी सस्थाका अध्यक्ष गितादेवी भट्टराई उपाध्ययले सहकारीका सदस्यबाटै चलेको पसलबाट किसानलाई मल बिक्री गर्दै आएकोमा वालिङ पुगेको विषयले आफू अचम्ममा परेको बताइन् ।

तपाईको प्रतिक्रिया