तानसेनमा रक्तदान सचेतना र छलफल

तानसेन। तानसेनमा रक्तदान सचेतना सम्बन्धि सरोकारवालाबीच छलफल कार्यक्रम सम्पन्न भएको छ । रक्तदान सम्बन्धि कस्तो व्यक्तिले रक्तदान गर्न मिल्छ र के कस्ता साबधानि अपनाउनु पर्छ भन्ने विषयमा नेपाल रेडक्रस सोसाईटि पाल्पाले रक्तदान सम्बन्धि सचेतनात्मक छलफल कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा रेडक्रस सोसाईटि पाल्पाका सदस्य डाक्टर झपेन्द्र ढकालले १७ बर्ष पूरा भएको र वजन ४५ केजि भएको व्यक्तिले पुरुषको हकमा तीन महिना र महिलाको हकमा चार महिनाको अबधिमा रक्तदान गर्न सकिने बताए।

मानिसलाई प्रतिकेजी ५० एमएल रगत भए पुग्ने ढकालले जानकारी दिए । कार्यक्रममा तानसेन नगरपालिकाकी उपप्रमुख प्रतिक्षा गाहा सिंजालीले रक्तदान गर्ने व्यक्तिहरुको रोस्टर निर्माण गर्ने कार्यलाई सबै सरोकार निकायहरु गम्भीरता पुर्बक लाग्नुपर्ने बताइन्।

पाल्पा अस्पतालका अध्यक्ष गुरास आत्रेयले पाल्पामा ब्लड बैंक स्थापनाका लागि रेडक्रस सोसाईटिसंग समन्वय गर्न तयार रहेको बताए । आत्रेयले पाल्पाका स्थानीय गतहको सहयोगमा ब्लड बैंक स्थापना गर्न सकिने भन्दै जनशक्ति व्यवस्थापनका लागि स्वास्थ्य संस्थाहरु सहयोग गर्न तयार हुने बताए ।

छलफलमा यूनाईटेड मिसन अस्पतालकी रचेल कारखले पाल्पामा अप्ठेरो अवस्थामा रगत अभाव हुन नदिन सबै मिलेर योजना बनाई कार्यान्वयन गर्नुपर्ने बताइन्।

कार्यक्रममा विभिन्न राजनैतिक दल, संघसंस्थाका प्रतिनिधीले रक्तदान गर्न तयार व्यक्तिहरुको लिस्ट बनाई आवश्यक परेको बेला सहजै उपलब्ध बनाउन प्रतिवद्धता व्यक्त गरेका थिए ।

विश्व स्वास्थ्य संगठनको मान्यताअनुसार रगत अभाव हुन नदिन मुलुकको कुल जनसंख्याको बढीमा दुई प्रतिशतले प्रत्येक वर्ष रक्तदान गर्नुपर्छ । यस हिसाबले पनि नेपालमा ५ लाख ८३ हजार ८ सय ४९ जनाले रक्तदान गरेको हुनुपर्छ । तर, ०७८÷७९ मा २ लाख ४९ हजार ७ सय युनिट संकलन भयो । यो भनेको कुल जनसंख्याको ०.८ प्रतिशत मात्र हो ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चा पाल्पाका अध्यक्ष बिशाल दर्लामीले तत्कालका लागि जिल्ला स्थित विभिन्न सामाजिक सस्थाहरु, राजनितिक दलहरु र आम जनताले आफ्नो रक्त समुह परिक्षण गरि रोस्टर निर्माण गर्ने र भबिश्यमा ब्लड बैंक संचालन गर्न सबै प्रतिवद्ध हुनुपर्ने बताए ।

रक्तदातालाई निरन्तर रक्तदान गर्न प्ररेणा दिन नसक्नु नै आवश्यक भएको बेला रगत अभाव हुनु प्रमुख कारण भएको नियमित रक्तदाता सुदर्शन पाण्डेको भनाइ छ ।

रेडक्रस सोसाईटि पाल्पाका सभापती बाबुराम कार्कीले नयाँ रक्तदाता स्वयंसेवी आकर्षण गर्न नसकिएको बताए । कार्कीले पाल्पामा वार्षिक ३६०० पोईण्ट रगत आवश्यक हुने भन्दै त्यसको व्यवस्थापनका लागि रेडक्रस सोसाईटि पाल्पाले अगुवाई गर्ने बताए।

तपाईको प्रतिक्रिया