पाल्पा अस्पताल सुधारमा जोड

तानसेन । पाल्पा अस्पताल सुधार गरी स्तरीय सेवा प्रदानका लागि पहल गरिएको अस्पताल विकास समितिले जनाएको छ । समितिले पछिल्लो समय अस्पतालको सेवामा सुधार गरी बिरामीलाई सहज तरिकाले उपचार गर्न थालेको जनाएको छ ।

बिहीबार आयोजित पत्रकारसंगको अन्तरक्रियामा विगतको तुलनामा उपचार गर्ने बिरामीको संख्यामा वृद्धि भएको, र सकेसम्म अस्पतालमै उपचार र औषधिको व्यवस्थापनका लागि समितिले पहल गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गुँरास आत्रेयले जानकारी दिए ।

अध्यक्ष आत्रेयले पाल्पा अस्पताललाई आम नागरिकको अस्पताल बनाउनका लागि पहल गरिएको बताए ।

जनताले सहज रुपमा सर्वसुलभ र गणस्तरीय सेवा पाउने अस्पताल बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको उनको भनाई छ।

कोरोना महामारीका बेला जिल्लामा अन्य अस्पतालको तुलनामा पाल्पा अस्पतालले स्तरीय सेवा प्रदान गरेको र अहिले दैनिक दुईसयबढी बिरामीले सेवा लिदै आएकोमा जनशक्ति व्यवस्थापन, तथा पूर्वाधार निर्माणमा सबै पक्षले पहल गर्नुपर्ने आवश्यकता रहेको अध्यक्ष आत्रेयले बताए ।

“हामी अशक्त भएका बेला नागरिकले खोज्ने भनेकै सरकारको अस्पताल हो, विगतमा पनि संकटका बेला पाल्पा अस्पतालले नागरिकको जीउज्यान रक्षाको लागि ठूलो भूमिका खेलेको थियो । हाल अस्पतालबाट ओपिडी सेवा, दन्त सेवा, ल्याब सेवा, फार्मेसी सेवा, इमर्जेन्सी सेवा, विपन्न नागरिकको उपचार सेवा तथा रिफर सेवालाई प्रभावकारी रुपमा सञ्चालन गर्ने प्रयासमा छाैं।” अध्यक्ष  आत्रेयले भने।

कार्यक्रममा अस्पतालका निमिक्त मेडिकल सुरपरीटेन्डेन्ट डा. विवेक भण्डारीले पछिल्लो समय अस्पतालको सेवा प्रभावकारी बन्दै गएको बताए । उनले हाल अस्पतालमा दैनिक २३० भन्दा बढी बिरामीको उपचार गराउँदै आएको बताए ।

भवन अभाव, कर्मचारीको व्यवस्थापनमा समस्या देखिएको हुँदा सोचे जस्तो सेवा दिन असहज भएको डा. भण्डारीले बताए । अस्पतालसँग भएको पूर्वाधार, जनशक्ति परिचालन गरेर बिरामीलाई सहज उपचार गर्ने व्यवस्था मिलाएको अस्पताललले जनाएको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष रेखीराम रानाले जनताको सहज सेवाका लागि पहिलो पूर्वाधारको व्यवस्थापन गर्न सुझाव दिए । बिरामी पहिले भवन हेरेर उपचारका लागि आउने भएकाले तत्काल व्यवस्थित भवन निर्माणमा जोड दिनुपर्ने उनले बताए । अध्यक्ष रानाले अस्पतालले दिने सेवा बिस्तारै सुधारउन्मुख रहेकाले थप सुधार गर्नुपर्नेमा जोड दिए ।

यस्तै अन्य पत्रकार तथा संचारकर्मीहरुले अस्पताल थप व्यवस्थित गर्न कर्मचारीको व्यवहार सुधार गर्नुपर्ने, उपचार र रेफर तथा निः शुल्क वितरण हुने र नियमित औषधि सेवन गर्ने बिरामीका लागि सहजता ल्याउनुपर्ने जस्ता विषय सुधार गर्न जोड दिएका थिए ।

तपाईको प्रतिक्रिया