
तानसेन। करिब तीन दशकपछि तानसेन टुडिखेलमा आयोजना भएको कर्णेल उजिरसिंह पाल्पा गोल्डकप २०८० सम्पन्न भएको छ । जेठ १५ गतेदेखि सुरु भएको गोल्डकप शनिबार सम्पन्न भएको हो।
फाइनल खेलमा बिक्की चाम्लिङ राईको २ गोलको सहायतामा सेन्ट्रल कलेज रोड्स चितवनले कर्णेल उजिरसिंह पाल्पा गोल्डकपको उपाधि जितेको छ । शनिबार फाइनलमा चितवनले होराइजन फुटबल क्लब वालिङ स्याङ्जालाई २–० ले पराजित गरेको हो ।
पहिलो हाफको तेस्रो मिनेटमा रोड्स चितवनका बिक्कीले पहिलो गोल गरे । रक्षात्मक खेलेको वालिङका सौगात गुरुङले फाउल गरेपछि प्राप्त पेनाल्टीमा उनैले ४७ मिनेटमा गोल गर्दै टिमलाई २–० को बलियो स्थितिमा पुर्याए ।
रोड्स चितवनका अमृत गुरुङ म्यान अफ द म्याच भए । उनले ३ हजार पुरस्कार पाएका छन् । चितवनले ३ लाखसहित पाल्पाली करुवा ट्रफी जित्यो । उपविजेतामा वालिङ स्याङ्जाले १ लाख ५० हजारसहित पाल्पाली करुवा पायो ।
विजेतालाई तानसेन नगरप्रमुख सन्तोषलाल श्रेष्ठ, प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्यसचिव जयप्रकाश भट्टराई, पाल्पा जिल्ला फुटबल संघका अध्यक्ष प्रणयवीर जंग राणा, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराईलगायतले पुरस्कार वितरण गरे ।
विधागततर्फ किपरमा चितवनका सरोज तामाङ, उदीयमान खेलाडीमा पाल्पा–११ का आशिष राना, सर्वाधिक गोलकर्तामा बिक्की चाम्लिङ राई, रक्षकमा वालिङका राजेन्द्र श्रेष्ठ पुरस्कृत भए ।
उत्कृष्ट खेलाडी चितवनकै जितेश गुरुङ भए । फेयर प्ले टिम न्यु युथ युनियन पाल्पाले हात पारेको छ ।
तानसेन नगरप्रमुख श्रेष्ठले पाल्पा गोल्डकपले पाल्पाको पुरानो इतिहासलाई पुनः स्मरण गराएको बताए । उनले आगामी वर्ष प्रतियोगिताका लागि नगरपालिकाले पनि थप सहयोग गर्ने बताए ।
लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्यसचिव भट्टराईले पाल्पा गोल्डकपले आगामी दिनमा स्थानीय र प्रदेश सरकार मात्र होइन संघीय सरकारको समेत सहयोग पाउने गरी प्रतियोगिता आयोजना गरकोे बताए ।
पाल्पा जिल्ला फुटबल संघका अध्यक्ष राणाले आगामी दिनमा बी र ए डिभिजनमा भाग लिने खेलाडीका रूपमा उत्पादन गर्ने पाल्पा गोल्डकपको लक्ष्य रहेको बताए ।