
तानसेन। तानसेन-रानीमहल सडक मर्मतका लागि १५ दिन बन्द हुने भएको छ । जेठ ३२ अर्थात बिहीबारदेखि असार १५ गतेसम्म पूर्ण रुपमा बन्द हुने भएको हो।
तानसेन–रानीमहल सडक खण्डको अवलमा बाटो ढलान गर्ने काम चलिरहेकाले असार १५ सम्मका लागि सडक बन्द हुने भएको हो । सडक पूर्वाधार विकास कार्यालय पाल्पाले उक्त क्षेत्रको सडक बन्द गर्न लागिएको जनाइएको छ ।
सडक मर्मतका समयमा वैकल्पिक सडकको प्रयोग गरी निमार्ण कार्यमा सहयोग कार्यालयले अनुरोध गरेको छ । यो सडक बन्द हुँदा रानीमहल घुम्न जाने पर्यटक भने समस्यामा परेका छन् ।
बैकल्पिक सडक अन्तरगत अर्गली– कुडापानी, अर्तुङ्गा –छेर्लङ्ग हुँदै रानीमहल र चिलाङ्गदी–खानीगाउँ, दैलातुङ्ग हुँदै रानीमहल जाने बाटो दूरीका हिसाबले लामो रहेको र सबैलाई उक्त सडकबारे जानकारी नहुँदा समस्या हुने पर्यटन व्यवसायीहरुले बताएका छन् ।
पूर्वाधार सडक कार्यालयले यस अघि पनि कालोपत्रे, ठाउँ–ठाउँमा मर्मत सम्भारको लागि भन्दै वैशाख १५ गतेदेखि २१ गतेसम्म सडक बन्द गरेको थियो ।
लुम्बिनी प्रदेश सरकारले रानीमहलसम्म पुग्ने पर्यटकको सहज यातायातका लागि सडक कालोपत्रेको योजना स्विकृत गरी विगत दुई वर्षदेखि नियमित काम गर्दै आएको छ ।
रानीमहल पाल्पा सदरमुकाम तानसेनदेखि १३ किलोमिटर उत्तरमा पर्दछ।