
तानसेन। पाल्पामा असार १५ सम्म २५ प्रतिशत रोपाइँ सकिएको छ । समयमा पानी नपरेका कारण अघिल्लो वर्षको तुलनामा आधा मात्रै रोपाइँ सकिएको हो ।
गतवर्ष यो समयमा ५० प्रतिशत रोपाइँ सम्पन्न भएकोे कृषि ज्ञान केन्द्र पाल्पाले जनाएको छ । कृषि ज्ञान केन्द्र पाल्पाकी प्रमुख कामना अधिकारीका अनुसार समयमा मनसुन सक्रिय नहुँदा आकासे पानीको भरमा रोपाइँ गर्ने तथा खोला खोल्साका पानी समेत सुकेपछि धान रोपाइँ ढिला भएको हो ।
असारको दोस्रो साता बित्दा ४० प्रतिशत बढी रोपाइँ हुनुपर्ने भएपनि लामो खडेरीले गर्दा एक साता अघिबाट मात्रै पाल्पामा रोपाइँ सुरु भएको हो ।
सिचाइँ अभावले समयमा धान रोप्न नपाउदा किसानले बीउ बुढो हुने डर छ भने टारी खेलका लागि ब्याड राख्नै बाकीँ रहेको किसानाको भनाई छ।
पाल्पाको माडीफाँट, झडेवा, पूर्वखोला, निस्दी, अर्गली, दोभान, कालीगण्डकी बेँसीलगायतका स्थानमा किसानले बीउ राखे पनि मनसुनी वर्षा नहुँदा केही ढिलाइ भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
पाल्पामा ८ हजार ६ सय २० हेक्टर क्षेत्रफलमा वर्षे धान खेती हुन्छ । जिल्लामा बाह्रै महिना सिँचाइ हुने ३ हजार ९ सय ६४ हेक्टर जमीन छ । बाँकी ४ हजार ७ सय ८६ हेक्टरमा आकासे पानीको भर पर्नु पर्छ अवस्था रहेको कृषि ज्ञान केन्द्र पाल्पाले जनाएको छ ।