पानी परेसंगै पाल्पाका फाँटहरुमा धमाधम रोपाइँ

तानसेन। लामो खडेरीले चिन्तामा रहेका पाल्पाका किसानले पानी परेसंगै धमाधम रोपाइँ सुरु गरेका छन् । गत दुई दिनदेखि लगातार पानी परेका कारण किसानहरु मानो रोपेर मुरी फलाउन फाटँहरुमा व्यस्त बनेका हुन्।

विगतका वाषर््को तुलनमा यो वर्ष मनसुन ढिलो सक्रिय हुँदा ब्याड समेत राख्न नपाएका र राखेको ब्याडमा धाजा फाँटेका किसानहरु अहिले उत्साहित भएर खेतहरुमा रमाएका छन् ।

पानी परेसंगै खोला खेत र आकाशे पानीको भरमा धान लगाउने किसानले असार १५ कै दिन मात्रै करिब ३० प्रतिशत क्षेत्रफलमा रोपाइँ गर्न सफल भएको कृषि ज्ञान केन्द्र पाल्पाकी प्रमुख कामना अधिकारीले जानकारी दिइन् ।

यो वर्ष रासायनिक मलको समयमा आपूर्ती हुँदा उत्साहित भएको तर समयमा पानी नपर्दा बीउ बुढो हुने चिन्तामा रहेपनि पानी परेसंगै अहिले रोपाइँ गर्न पाउँदा खुसी लागेको तानसेन मदनपोखराकी किसान सृजना बस्यालले बताइन् ।

पाल्पाको माडीफाँट, झडेवा, पूर्वखोला, निस्दी, अर्गली, दोभान, कालीगण्डकी बेँसीलगायतका स्थानमा धान रोपाइँ सुरु भएको छ ।

पाल्पामा ८ हजार ६ सय २० हेक्टर क्षेत्रफलमा वर्षे धान खेती हुन्छ । जिल्लामा बाह्रै महिना सिँचाइ हुने ३ हजार ९ सय ६४ हेक्टर जमीन छ । बाँकी ४ हजार ७ सय ८६ हेक्टरमा आकासे पानीको भर पर्नु पर्छ अवस्था रहेको कृषि ज्ञान केन्द्र पाल्पाले जनाएको छ ।

तपाईको प्रतिक्रिया