
तानसेन। लगातारको वर्षाका कारण पाल्पाको माडी फाँट डुबानमा परको छ । जिल्लामै सबैभन्दा धेरै खेती हुने हुँदा पाल्पाको अन्नभण्डार मानिने माडीफाँटको दुई हजार रोपनी भन्दा बढी क्षेत्रफल डुबानमा परेको हो । यस्तै बाँसटारी क्षेत्रका खेतहरु समेत डुबानमा परेको स्थानीयले बताएका छन् ।
अविरल वर्षाका कारण माडी फाँटमा पानी संकलन भएर ठूलो ताल नै बनेको किसानको भनाई छ। बगनासकाली र माथागढी गाउँपालिका तथा तानसेन नगरपालिकाभित्रका खेतहरु डुवानमा परेका हुन्।
माडी फाँटका बुढुवा, अम्लिहान, तानसेन खोला तथा माथागढीको फेदी, दोहोरा र बद्वारी क्षेत्रमा भलसहितको बाढी पसेपछि डुबान भएको तानसेन–९ का वडाध्यक्ष राजेशकुमार अर्यालले बताए ।
डुबानका कारण केही दुई दिनअघि रोपेका धानहरु भलले बगाएको किसानले बताएका छन् ।
लामो खडेरीले समयमा धान रोपाई गर्न नपाएका किसान पानी परेसंगै खुसी भएर रोपाईमा जुटेपछि वर्षाका कारण रोपो नै बगाएपछि भने चिन्तित भएका छन् ।