गठन्धनको सरकार पाँच वर्षसम्म टिक्छः माधवकुमार नेपाल

तानसेन। पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको सरकार पाँच वर्षसम्म मजबुत भएर अघि बढ्ने बताएका छन् । उनले समाजवादी मोर्चा गठनले पनि गठबन्धन र सरकारलाई मजवुद बनाउन थप टेवा पुग्ने दावी गरे ।

मंगलबार बिहान नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाले तानसेनमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै पूर्वप्रधान्मन्त्री नेपालले काङ्ग्रेस, माओवादी, समाजवादीसहितका अन्य दलहरुसंगको छलफलले सरकारको स्थायित्वको लागि गठबन्धन कायम गरी काम गर्ने सहमति भएको दावी गरे।

उनले सरकारको स्थायित्वका लागि नै समाजवादी मोर्चा बनेको उल्लेख गर्दै समाजवादी मोर्चामार्फत विचार मिल्ने पार्टीहरु एकठाउँमा हुँदैमा कोही पनि त्रसित हुनु नपर्ने बताए ।

वर्तमान सरकारले भ्रष्टाचारलाई नियन्त्रण गर्ने र कारबाही गर्ने कार्य गरेकोमा प्रशंसा गर्नुहुँदै भ्रष्टाचारका दोषी उम्कन नहुने उनले बताए । “भ्रष्टाचारमा मुछिएका दोषी कोही पनि उम्कनु हुँदैन, “म र हाम्रो पार्टी भ्रष्टाचार बिरोधी अभियानमा साथ दिन तयार छौँ, यो काममा सरकारलाई पूर्ण साथ र समर्थन छ ।” उनले भने ।

ललिता निवासमा आफ्नो नाम जोडिनु स्वभाविक भएको बताउँदै आफू प्रधानमन्त्री हुँदा सरकारी जग्गा हो वा होइन भनेर कानुनसम्मत रुपमा छुट्याएर अगाडि बढ्न निर्णय गरेको बताए । त्यो निर्णय बिपरीत अन्य निकायबाट सरकारी जग्गालाई व्यक्तिको भनेर निर्णय गर्छ भने त्यसको जिम्मेवार को हुने हो ? नेपालले भने ।

‘सरकारी जग्गा हिनामिना प्रकरणमा जो सुकैले कसुर गरेको होस्, उसले दण्ड पाउनुपर्छ । कारबाहीको भागिदार हुनुपर्ने उनले बताए । नाम आउनेबित्तिकै आफूले बदमासी गरेको छैन भने आत्तिहाल्नुपर्ने अवस्था नहुने अध्यक्ष नेपालले बताए । ‘जुनसुकै तहका मान्छेले बदमासी गर्न सक्छन्,’ उनले भने, ‘त्यसमा जोडिएको, संलग्न, हिस्सेदार छ वा छैन भन्ने कुरासँग पनि जोडिएको हुन्छ ।’ उनले भने।

कुनै मानिसलाई निर्णय गरेकै आधारमा दोष लगाउनुभन्दा भन्दा पनि नियत र त्यसबाट फाइदा लिने गिरोहका मानिसलाई हेरेर निर्णय गर्नुपर्ने पूर्वप्रधानमन्त्री नेपालको भनाई छ । यस्तै नेपाल ट्रष्टका जग्गादेखि सरकारी जग्गाको समेत छानविन गरेर भ्रष्टाचारीलाई सरकारले कारबाही गर्छ भन्ने आशा जनतामा संचार गर्नुपर्ने उनले बताए।

ललिता निवास मात्र होइन अन्य भ्रष्टाचारका मुद्दामा पनि सरकारले अनुसन्धान गरेर दोषीलाई कारबाही गर्नुपर्ने नेपालले बताए। सरकारले अन्दाधुन्द लगानी गर्नुको सट्टामा योजना बनाएर त्यसको प्रतिफल लिने गरी काम गर्नुपर्नेमा जोड दिए ।

उनले नेपालको बजेट बनाउने प्रणली नै खराब रहेको जनाउँदै यसबारे तीनै तहका सरकार गम्भीर हुनुपर्ने बताए । यस्तै सञ्चारकर्मीको जिज्ञाशामा आफू प्रधानमन्त्री बन्ने विषय मशत्वपूर्ण नभएको उनले बताए।

उनले सबैले राम्रो गरेमा मात्रै सरकार सफल हुने र सबै कामको जिम्मेवारी प्रधानमन्त्रीलाई मात्रै दिएर सबै उम्कन नमिल्ने बताए।

नेपाल एकीकृत समाजवादी पाल्पाका अध्य्रक्ष खिमानन्द पाण्डेय (कमल) को निधनमा परिवारलाई समवेदना दिन पाल्पा आएका हुन् ।

तपाईको प्रतिक्रिया