
तानसेन। पाल्पाबाट दुई पांग्रे सवारी साधनको लाइसेन्सका लागि ट्रायल (परीक्षण) शुक्रबारबाट सुरु भएको छ । यातायात व्यवस्था सेवा कार्यालय पाल्पाले बाँसटारीमा निर्माण भएको ट्रायल सेन्टरबाट परीक्षा लिन सुरु गरेको हो। लुम्बिनी प्रदेशको पहाडी जिल्ला पाल्पामा पहिलो पटक ट्रायल परीक्षा सुरु भएको छ।
लुम्बिनी प्रदेश सरकारको सहयोगमा यातायात व्यवस्था कार्यालय पाल्पाले ट्रायल सेन्टर निर्माण गरेर सेवा दिन सुरु गरेको हो। पहाडमै सेवा पाएपछि नागरिकलाई तराईमा सेवा लिन जानुपर्ने बाध्यताको अन्त्य भएको छ ।
एक साता अघि लिखित परीक्षा लिएर शुक्रबार दुई पांग्रे सवारी साधन स्कुटर र मोटरसाइकलको ट्रायल गराइएको हो । लिखित परीक्षमा उत्तीर्ण १९० जनाको ट्रायल लिइएको यातायात सेवा व्यवस्था कार्यालयका प्रमुख केशव सुनारले बताए।
सिद्धार्थ राजमार्गको बाँसटारीदेखि एक किलोमिटर नजिकमा सुरु ट्रायल सेन्टरका लागि अघिल्लो वर्ष एक करोड बजेट विनियोजन भएको थियो । ट्रायल सेन्टरको लुम्बिनी प्रदेश सभा सदस्य वीरबहादुर रानाले शुभारम्भ गरेका हुन् ।