सव डिभिजन वन कार्यालयद्धारा रामपुर नगरपालिकालाई नर्सरी हस्तान्तरण

पाल्पा । डिभिजन वन कार्यालय  पाल्पाले रामपुर नगरपालिकालाई विरुवा सहितको नर्सरी हस्तान्तरण गरेको छ । डिभिजन वन कालार्यलय पाल्पाले सव डिभिजन वन कार्यालय रामपुर पाल्पाले तयार पारेको बिरुवासहितको नर्सरी मंगलबार रामपुर नगरपालिकालाई हस्तान्तरण गरेको हो ।

वन कार्यालयले करिब ३ महिनाको अवधिमा तयार पारेको १४ प्रकारका ३२ हजार ६ सय ४० वटा विरुवा सहितको नर्सरी हस्तान्तरण गरेको हो ।

वन कार्यालय पाल्पाको एक पालिका एक वन नर्सरी कार्यक्रम अन्तर्गत तयार पारिएको नर्सरी नगरपालिकालाई रेखदेख र वितरणको लागि जिम्मा दिएको हो । नर्सरी हस्तान्तरण गर्दै सव डिभिजन वन कार्यालय रामपुरका प्रमुख सुजन राजभण्डारीले वन कार्यालयको वार्षिक कार्यक्रम अन्तर्गत रामपुर नगरपालिका संग सम्झौता भई तयार पारिएको नर्सरी नगरपालिकालाई हस्तान्तरण गरेको बताए।

 

उनले अहिले तत्काल खयर जातको विरुवा वितरण गर्न योग्य रहेको भन्दै अन्य विरुवा आगामी बर्ष वितरण गर्न सकिने बताए।

नर्सरी ग्रहण गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले तयारी अवस्थामा रहेका विरुवा नगरबासीलाई निशुल्क रुपमा वितरण गरिने बताए।  अहिले वितरण गर्न योग्य रहेका २ हजार ७ सय ५० वटा खयरका विरुवा नगरबासीको मागको आधारमा वितरण गर्ने बताए। वार्षिक कार्यक्रम अन्तर्गत नगरपालिकालाई नर्सरी तयारी गरि हस्तान्तरण गरेकोमा वन कार्यालयलाई धन्यवाद ज्ञापन गरे।

रामपुर नगरपालिकाको भौतिक तथा जग्गा व्यवस्थापनमा सब डिभिजन वन कार्यालय रामपुरले छतिवन , तेजपत्ता ,ज्याकेरेन्डा , गोल्डमोहर,राजवृक्ष, वेल , पंहेले फुल , कपुर , ओरी , अमला ,खयर , क्यासिया ,हरियो सिमल र धुपी गरि ३२ हजार ६ सय ४० प्रकारका विरुवा सहितको नर्सरी हस्तान्तरण गरेको हो ।

तपाईको प्रतिक्रिया