
तानसेन। आज बिहान पहिरो खसेर अवरुद्ध भएको सिद्धार्थ राजमार्गको पाल्पा बुटवल सडक खण्ड एकतर्फी रुपमा संचालनमा आएको छ । उक्त राजमार्गको सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको माथिबाट खसेको पहिरो हटाएर एकतर्फी रुपमा सवारी आवागमन सुरु भएको प्रहरीले जनाएको छ ।
बिहान तिनाउ गाउँपालिका वडा न. ३ ड्यामसाइटस्थित सिद्धबाबा सुरुङमार्गको उत्तरतर्फको प्रवेश विन्दुमाथि ढुंगासहितको पहिरो खसेपछि राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको थियो।
लेदो र ढुंगासहितको पहिरो हटाउन सुरुङमार्ग आयोजनाको मेसिन प्रयोग गरिएको थियो। हाल एकतर्फी रुपमा सवारी पास हुनेगरी सडक खुलाइएको दोभान प्रहरी चौकीले जनाएको छ ।
पहिरो हटाएपछि बिहानैदेखि सडकमा अलपत्र परेका यात्रुहरु गन्तव्यमा लागेका छन् । हालका लागि पहिरो पन्छाएर सवारी संचालन भएपनि पहिरोको जोखिम भने उक्त क्षेत्रमा कायमै रहेको प्रहरीले जनाएको छ ।