लेदोसहितको पहिरो खसेपछि सिद्धार्थ राजमार्ग पुनः अवरुद्ध

तानसेन। वर्षासंगै पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अन्तरगत तानसेन बुटवल सडक खण्ड पुनः अवरुद्ध भएको छ । उक्त राजमार्गको तिनाउ गाउँपालिका वडा नं. ३ ड्यामसाइडस्थित निर्माणाधीन सिद्धबाबा सुरुङमार्गमाथि पुनः पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो ।

दोभान प्रहरी चौकीका अनुसार बिहान खसेको पहिरो पन्छाएर एकतर्फी रुपमा सवारी सञ्चालन गरिएकोमा पुनः लेदोसहितको पहिरो खसेपछि राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ ।

बिहान करिब ५ घण्टापछि एकतर्फी सुचारु भएको सकमा बेलुका ५ बजेतिर पुनः पहिरो खसेर अवरुद्ध बनेको प्रहरीले जनाएको छ ।
सुरुङमार्गको उत्तरतर्फको प्रवेश विन्दुमाथि ढुंगासहितको पहिरो खसेपछि साउन लागेपछि पटक पटक राजमार्ग अवरुद्ध हुने गरेको छ ।

हाल पहिरो हटाउन सुरुङमार्ग आयोजनाको मेसिन प्रयोग गरिएको दोभान प्रहरी चौकीले जनाएको छ ।

लेदोसहितको पहिरो खस्ने क्रम जारी रहेको हुँदा सवारी सञ्चालन गर्न समय लाग्ने प्रहरीले जनाएको छ । राजमार्ग अवरुद्ध हुँदा पहाड र तराईको सम्पर्क टुटेको छ भने, यात्रुहरु बीच सडकमा अलपत्र परेका छन् ।

तपाईको प्रतिक्रिया