
तानसेन। पाल्पाको जोर्तेमा सुख्खा पहिरोले जिप पुरिदा तीन जनाको घटनास्थल मै मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार मृत्यु हुनेमा गुल्मीको रेसुङ्गा नगरपालिका वडा नं.–७, की ५० वर्षीया मनकला चुँदारा, गुल्मी प्रहरीमा कार्यरत प्रहरी सहायक हवल्दार तानसेन नगरपालिका वडा नं.–११, बन्दीपोखराका ४२ वर्षीय यमबहादुर बोहोरा र पोखरा महानगरपालिका वडा नं.–२५, हेम्जाका ३१ वर्षीय विनोद तिमिल्सिना रहेका छन् ।
यसैबीच दुर्घटनामा एकै गाउँका सात जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्र थापाका अनुसार दुर्घटनामा गुल्मीको रेसुङ्गा नगरपालिका ८ खानीगाउँका ४० वर्षीया शोभा घर्ती मगर, सोही स्थानकी ३७ वर्षीया शुस्मा राना, शुस्मा रानाकी छोरी ६ वर्षीया सुरवी राना, उनकै ५ महिनाकी छोरी सुवीया राना, ४५ वर्षीय टेक बहादुर जि.एम, २७ वर्षीया स्वीकृती थापा र उनका ५ वर्षीय छोरा सुरेन थापा घाइते भएका हुन् ।
घाइते सबैको तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ ।
सवारी चालक बालकृष्ण श्रेष्ठ भने सकुशल रहेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
गुल्मीको तम्घासबाट पाल्पा हुँदै बुटवल जाँदै गरेको लु १ ज ४६०० नम्बरको जिप तानसेन तम्घास सडक खण्डको जोर्ते क्षेत्रमा सुख्खा पहिरोले च्यापिएर दुर्घटना भएको हो।