
तानसेन। नेपाल–अङ्ग्रेज युद्धमा विजय हासिल गरेको सम्झनामा ऐतिहासिक भगवती माताको रथ यात्रासहितको सिन्दुर यात्राको तयारी पूरा भएको छ । नेपाल–अङ्ग्रेज युद्धका बेला नेपाली फौजले जितगढी किल्लामा विजय हासिल गरेको सम्झनामा दुई सय वर्षभन्दा अघिदेखि निकालिदै आएको रणउजेश्वरी भगवतीको रथयात्राको सम्पूर्ण तयारी पुरा भएको भगवती गुठीले जनाएको छ ।
तत्कालीन तैनाथवाला कर्णेल उजिरसिंह थापाको नेतृत्वमा नेपाली फौजले अङ्ग्रेज फौजलाई जितगढी किल्लामा विजय हासिल गरेको थियो । सोही बेलादेखि पाल्पाको तानसेनमा रहेको भगवती माताको रथयात्रा गराउने प्रचलन सुरु भएको थियो ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अशोककुमार महर्जनका अनुसार रथ यात्राको सम्पूर्ण तयारी पूरा भएको हो । यो वर्ष २०३ औँ पटक रथयात्रा गर्ने हुँदा मन्दिरको दर्शन गरी रथयात्रामा सहभागी हुन लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीको उपस्थित हुने भएका छन् ।
नेपाल–अङ्ग्रेज युद्धका बेला कर्णेल उजिरसिंह थापाले भगवती मातासँग युद्ध जितेर फर्किएपछि भगवतीको महिमा फैलाउने भाकल गरेअनुसार सोही बेलादेखि भगवतीको रथ बजार परिक्रमा गराउने प्रचलन सुरु भएको थियो ।
भगवती जात्रामा स्वदेश, विदेश तथा स्थानीयवासी गरी हजारौँ भक्तजनको भव्य सहभागिता रहन्छ । यसलाई नेपालले अङ्ग्रेज फौजलाई हराएको सम्झनामा गरिने विजय उत्सवका रूपमा समेत लिने गरिन्छ ।
रथ जात्राको अवसरमा प्रदेश सरकारले पाल्पा जिल्लाभर सार्वजनिक बिदा पनि दिएको छ ।