तानसेन। नयाँधार डटकमका समाचार प्रमुख सुशील नेपाल ‘युवा पत्रकारिता सम्मान’बाट सम्मानित भएका छन् ।
काठमाडौंमा रहेर कला पत्रकारितामा सक्रिय नेपाललाई बुधवार सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)मा आयोजित म्युजिक अवार्ड कार्यक्रममा सम्मान गरिएको हो ।
बि.स्टार फिल्मस् प्रा.लीले आयोजना गरेको ‘न्यू लुक बि.स्टार फिल्मस् म्युजिक अवार्ड २०२३’मा नेपाल सम्मानित भएका हुन् ।
सांगीतिक र चलचित्र क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरुप नेपाललाई सम्मान गरिएको हो । गीतकार एवं संगीतकार राजकुमार बगर, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका पूर्व अध्यक्ष चन्द्र शर्मा, आयोजक संस्थाका अध्यक्ष विक्रम चौहान लगायतले ताम्रपत्र र दोसल्लासहित नेपाललाई सम्मान गरेका थिए ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ प्रमुख आतिथि रहेको समारोहमा भिडियो सम्पादक प्रकाश तुलाधरलाई ‘दीर्घ साधना सम्मान’बाट सम्मानित गरिएको थियो ।
गायक विष्णु खत्री ‘दशकका गायक सम्मान’ र मोडल सनम कठायतलाई ‘दशकका मोडल सम्मान’ प्रदान गरिएको थियो । समारोहमा पत्रकार गीता अधिकारीलाई पत्रकारिता सम्मान प्रदान गरिएको थियो ।
यसैगरी आइटी ईञ्जिनियर राजेन्द्र अर्याल प्रविधि सम्मानबाट सम्मानित भएका थिए ।
समारोहमा ४ दर्जन बिधामा अवार्ड वितरण गरिएको थियो । जसमा प्रमोद खरेल, खेम सेञ्चुरी, अर्जुन सापकोटादेखि एलिना चौहान, गीता ढुंगानासम्मले अवार्ड पाएका छन् ।





















