
तानसेन । पाल्पाको रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले आफ्नो तलबभत्ताको रकम गाउँकै विकास निर्माणमा खर्चिएका छन् । अध्यक्ष कार्कीले रिब्दीकोट गाउँपालिका वडा नं–७, बतासेदेखि डबका, फेक हुँदै रानीबगिया जोड्ने मोटरबाटो निर्माणमा आफ्नो तलबभत्ताको रकम खर्च गरेका हुन् ।
उक्त सडकको स्तरउन्नतिमा तलबभत्ताबाट आएको ६० हजार रुपैंया खर्च गरेको अध्यक्ष कार्कीले बताए । गत आर्थिक वर्षमा उक्त सडक विस्तारका लागि संघीय सरकार, सडक डिभिजन कार्यालय पाल्पाबाट पचास लाख रकम विनियोजन भएको थियो ।
प्राविधिक मुल्यांकन भन्दा बढी रकम खर्च हुन आएपछि अपुग रकम अध्यक्ष कार्कीले उपभोक्ता समितिमार्फत हस्तान्तरण गरेको वडा नं. ७ का अध्यक्ष दानबहादुर कुवंरले बताए ।
अध्यक्ष कार्कीले निर्वाचनमा भने अनुसार नै आफूले कुनै सुविधा नलिगी नागरिकको समस्या समाधानमा रकम खर्च गरेको बताए ।
पछिल्लो समय स्थानीय तहका जनप्रतिनिधि आर्थिक अनियमितता र सुख सुविधामा रमेका खबरहरु आएको बखत सानो सहयोगबाट नागरिकलाई सहजता पुर्याउनका लागि आफूले काम गर्दै आएको अध्यक्ष कार्कीले बताए ।
अध्यक्ष कार्कीले यसअघि पनि आफ्नो तलबभत्ताबाट पालिकामा म बनाउछु मेरो रिब्दीकोट अभियान सुरु गरी सरसफाईलगायतका कार्यमा खर्च गर्दै आएका छन् ।