तानसेन। रैनादेवीछहरा–२, सोमादीस्थित सिजी सिमेन्ट उद्योगमा स्थानीयले तालाबन्दी गरेका छन् । आफूहरूका माग पूरा नगरेको भन्दै आक्रोशित स्थानीयले शनिबार उद्योगको प्रशासनमा तालाबन्दी गरेका हुन् ।
उद्योगले वातावरण प्रदुषण बढाएको, फोहोर गरेको, धुलोधुँवा गरेको स्थानीयले आरोप लगाएका छन् ।प्रदुषण नहुने वातावरण उद्योगले बनाउनुपर्ने, उद्योगका कर्मचारीबाट हुने गरेको फोहोर गर्न रोक्नुपर्ने माग सो क्षेत्रका स्थानीयको छ ।
तालाबन्दीले कम्पनीको प्रशासनिक कामलाई प्रभावित पारेको छ । उद्योगलाई पटक–पटक सचेत गर्दासमेत अटेर गरेपछि तालाबन्दी गर्न बाध्य भएको स्थानीयको भनाइ छ । आफूहरूका माग पूरा नभएसम्म तालाबन्दी नखोल्ने स्थानीय विजय ज्ञवालीले बताए।
कम्पनी र स्थानीयका बीचमा सहमतिको प्रयास गरिएपनि समाधान नहुँदा तालाबन्दी भएको रैनादेवी छहरा–२ का वडाअध्यक्ष दानबहादुर पौडेलले बताए।
सिजी कम्पनीका प्रतिनिधि पदमबहादुर सिंहले भने स्थानीय बासिन्दाकै सहयोगमा उद्योग सञ्चालन गर्ने बताएका छन् । सहमति गरेर उद्योग सञ्चालनलाई निरन्तरता दिए यस भेगका नागरिकलाई फाइदा पुग्ने उद्योगका कर्मचारीले बताएका छन् ।



