गर्भपतन : रहर कि बाध्यता

मिलन परियार

काठमाडौं ।कैलालीकी ४३ बर्षीया कमला कार्की (नाम परिवर्तन) पाँच छोरी एक छोराकी आमा हुन् । “छोराको आशामा” उनी छ सन्तानकी आमा बनेकी हुन् । उनी दुई छोरीलाई जन्म दिएपछि सुखी जिन्दगी बिताउँन चाहान्थिन तर घर परिवारको छोरा जन्माउने दवावले उनले धेरै छोरी जन्माउनु परयो । श्रीमानले अस्थायी साधन प्रयोग गर्न नमान्दा उनले ७ बर्षको अबधीमा पाँच छोरी जन्माइन् । तर गर्भपतन गराउन सकिनन् । गर्भ निरोधक साधन प्रयोग पनि गरिनन् । उनका श्रीमानले गर्भ निरोधक साधन प्रयोग र गर्भपतन गरेका महिलामा बाझोपन हुने र बच्चा जन्मदैनन भन्दै बारम्बार दवाव दिई रहन्थे । गर्भपतन गर्दा शारीरिक रुपमा कमजोर हुन्छन् भन्दै श्रीमानले न गर्भपतन गर्न दिए न आफूले अस्थायी साधन प्रयोग गरे न उनलाईनै गर्भनिरोधक साधन प्रयोग गर्न दिए त्यसैको परिणाम छोराको आशैआशमा पाँच जना छोरी जन्मिए । कमलाले भनिन् । छोरा जन्माउन घर परिवारले निरन्तर दवाव दिदा छैटो सन्तानको रुपमा छोरा जन्माउन बाध्य भए उनले सुनाईन् ।

डोटीकी ३७ बर्षीया सरु नेपाली चार सन्तानकी आमा हुन् । उनले तीन पटक गर्भपतन गराई सकिन । उनका श्रीमान रोजगारीको सिलसिलामा भारत बस्छन् । बर्षको एक पटक घर आउँछन् । घर आउँदा श्रीमानलाई उनले अस्थायी साधन कण्डम प्रयोग गर्न आग्रह गर्दा समेत मान्थेनन । कण्डम प्रयोग गर्दा यौन सन्तुष्टी नहुने भन्दै उनका श्रीमानले कण्डम प्रयोग गर्न मान्दैन थिए । सो अबधीमा विभिन्न किसिमका गर्भनिरोधक साधन प्रयोग गर्थिन् । नेपालीले गर्भनिरोधक साधन प्रयोग गर्न थालेपछि महिनावारी सही समयमा हुदैन थियो । महिनावारी हुँदा कहिले धेरै रगत बग्ने,कहिले वजन बढ्ने,चक्कर आउँने हुँदा शारीरिक रुपमा कमजोर भईन् । पाठेघरमा समस्या देखिएपछि चिकित्सकले अप्रेशनको सल्लाह दिए । जिल्ला अस्पताल डोटीमा निशुल्क स्वास्थ्य शिबिर संचालन भएका बेला पाठेघरको अप्रेशन गराईन् । उनी भन्छिन्,जव मैले तीन पटक गर्भपतन गराए,आराम गर्न पाइन । शरीर कमजोर हुँदा पनि गर्भ निरन्तर गर्न बाध्य हुनुप¥यो । सन्तानको रहर पुरा भएर पनि विना योजना गर्भ रहदा गर्भपतन गराउनु परयो ।

डोटीकै ३५ बर्षीया सोनु नेपाली (नाम परिवर्तन) १८ बर्षीय एक मात्र छोरीकी आमा हुन् । १६ बर्षको कलिलो उमेरमा उनी गर्भवती भईन् । छोरीलाई जन्न दिइन् । छोरी जन्माएको छ महिनामा फेरी गर्भवती भईन् । त्यसैले उनले गर्भपतन गराउँने निर्णय लिइन् । गर्भपतनका लागि औषधीहरु पाइन्छ भन्ने कुरा थाहा नपाएकी उनले गर्भपतन गराउने चाहान राखिन । परिवारको सल्लाहमा कैलालीको अत्तरियास्थित मेरी स्टोप्समा गर्भपतन गराइन् । छोरा भए स्वास्नी कतीकती,मर्द भए सन्तान जति जन्माएपनि हुन्छ भन्ने महिलाभेदी मान्यताका कारण उनका श्रीमानले अस्थायी साधन प्रयोग गर्न नमान्दा उनी गर्भपतन गराएको एक बर्षपछि फेरी गर्भवती भइन् । गर्भवतीपछि उनले गर्भपतन गराउने औषधी बारे थाहा पाइन् ।

सिलगढीको एक मेडिकलबाट औषधी लिएर तोकिएको बिधी अनुरुप सेवन गरिन् । औषधी सेवन गरेको केही घण्टापछि रक्तश्राब हुन थाल्यो । आफ्नो गर्भ खेर गयो भनेर ढुक्क थिइन् उनी तर लामो समयसम्म पनि रक्तश्राब रोकिएन । उनलाई कमजोरी महसुस भयो । रगत पनि अत्यधिक बग्यो । उनी भित्रभित्रै डराउन थालिन । घर परिवार सबै आत्तिए । उनलाई जिल्ला अस्पताल पु¥याइयो । चिकित्सकले प्रारम्भिक परीक्षणपछि उनलाई तुरुन्त रगत दिनुपर्ने र गर्भ राम्ररी सफा भइनसकेकाले पाठेघर सफा पनि गर्नुपर्ने सल्लाह दिए । चिकित्सकको सल्लाह अनुसार उनले पाठेघर सफा गरिन तर त्यसपछि भने उनको अहिलेसम्म गर्भ रहेन । उनले अहिले दोस्रो सन्तानको रहर गरिन तर त्यो पुरा हुन नसक्दा उनी निक्कै दुखीछिन् । तीन वटा छुट्टाछुट्टै भएपनि यो एक प्रतिनिधी घटना हो । सुदूरपश्चिममा यस्तो अबस्था झेल्ने महिलाहरुको संख्या धेरै छ ।

गर्भपतन गराउँनु महिलाको बाध्यता :
कमला कार्की, सरु नेपाली र सोनु नेपाली उदाहरण मात्र हुन् । जस्लाई सन्तानको रहर पुगिसक्दा पनि अनिच्छुक गर्भधारण र गर्भपतन गर्न बाध्य छन् । कमलालाई गर्भपतन गराउने इजाजत छैन् । सरुलाई गर्भपतन गराउने बाध्यता छ । सोनुलाई सुरक्षित स्वास्थ्य संस्थामा नगएर चिकित्सकको परामर्श बिना गर्भपतन गर्दा दोस्रो सन्तानको रहर भएर पनि रहर गुमाउनु परेको छ । यस्तो बाध्यताबाट गुज्रने महिलाको संख्या सुदूरपश्चिममा धेरै छ । पुरुषले बन्ध्याकरण गरे शारीरिक रुपमा कमजोर हुने,श्रीमतीको मृत्यु भएर अर्को श्रीमती बिहे गर्नु परेमा सन्तान जन्माउन असमर्थ हुने सुदूरपश्चिमेली मान्यता एकातिर छ भने अर्कोतिर अस्थायी साधन प्रयोग गरे यौन सन्तुष्टि नहुने भन्दै पुरुषहरु बन्ध्याकरण पनि नगर्ने र अस्थायी साधन पनि प्रयोग गर्न नमान्ने हुँदा महिलाहरु बर्षेनी सन्तान जन्माउन र गर्भपतन गराउन बाध्य छन् ।

सुरक्षित गर्भपतनको क्षेत्रमा काम गरिरहेको अन्तर्राष्टिय संस्था आइपास नेपालसंग आबद्ध भएर सुदूरपश्चिममा लामो समयदेखी सुरक्षित गर्भपतन तथा प्रजनन स्वास्थ्य क्षेत्रमा काम गर्दै आएकी जनस्वास्थ्यकर्मी मधु पोख्रेल पुरुषहरुमा स्थायी बन्ध्याकरण गरे कमजोर हुने र धार्मिक कामहरुमा सहभागी हुन नपाउने मानसिकताले महिलाहरु पीडा भोग्न बाध्य भएको बताउँछिन् । उनका अनुसार महिलाले गर्भपतन गराउनु पर्ने अबस्था नआओस भनेर पुरुषहरुलाई अस्थायी साधनको प्रयोग गर्न धेरै पटक प्रयास गर्दा पनि पुरुषहरुको पित्तृसत्तात्मक सोचका कारण अस्थायी साधन प्रयोग वा बन्ध्याकरण गर्नुहुन्न भन्ने सोचले बर्षेनी बच्चा जन्माउनु र गर्भपतन गराउनु महिलाका लागि बाध्यता भएको छ । गर्भपतन दुई किसिमले गरिन्छ औषधीद्धारा र औजारद्धारा,यि दुबै सेवा सुचिकृत स्वास्थ्यकर्मी र सुचिकृत सरकारी स्वास्थ्य संस्थाबाट निशुल्क लिन सकिन्छ तरपनि मेडिकलमा पाइने औषधी सेवन गरेर असुरक्षित गर्भपतन गराउनेको संख्या बढ्दो रहेको पोख्रेलले बताइन् ।

बलपूर्वक गर्भपतन गराए के हुन्छ ?
सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ अनुसार गर्भवती महिलाको मञ्जुरीले १२ हप्तासम्मको गर्भ,जबरजस्तीकरणी र हाडनाताकरणीबाट रहन गएको गर्भ र गर्भपतन नगराएमा गर्भको कारणले महिलाको जीवन र स्वास्थ्यमा खतरा पर्ने भएमा शारिरीक तथा मानसिक रुपले महिलाको स्वास्थ्यमा असर पर्ने भएमा बिकलांग बच्चा जन्मन सक्ने भएमा योग्य चिकित्सकको रायले सुचिकृत स्वास्थ्य संस्थामा २८ हप्ता सम्मको गर्भ गर्भपतन गर्न पाइने व्यवस्था छ ।

ऐनले गर्भवती महिलाको मन्जुरीबिना बलपूर्वक भ्रुणको लिंग पहिचान गरी गर्भपतन गराए कानूनी रुपमा दण्डनिय मानेको छ । ऐन को दफा ३ को उपदफा (१) ले प्रत्येक महिला तथा किशोरकिशोरीलाई यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी शिक्षा,सुचना,परामर्श तथा सेवा प्राप्त गर्ने अधिकार,विवाहपूर्व तथा विवाहपछि प्रजनन सम्बन्धी परामर्श तथा सुचना प्राप्त गर्ने अधिकार,गर्भपतन सेवा प्राप्त गर्ने अधिकार,गर्भवती,सुत्केरी तथा प्रजनन स्वास्थ्य रुग्णताको अबस्थामा पोषणयुक्त आहार तथा शारीरिक आराम पाउने अधिकार लगाएत अधिकारलाई सुनिश्चितता प्रदान गरेको छ । प्रजनन स्वास्थ्यको कमजोरी (रुग्णता) देखाएर कसैले श्रीमान,श्रीमती एकअर्कालाई घरबाट निकाला,विस्थापन एवं सम्बन्ध बिच्छेद गर्न वा गराउन नपाइने व्यवस्था पनि ऐनमा छ ।

ऐनमा आफ्नो स्वास्थ्य संस्थामा आकस्मिक प्रसुती तथा नवजात शिशु सेवा प्रदान गर्न सम्भव हुँदाहुँदै जानीजानी अर्को स्वास्थ्य संस्थामा रिफर गर्ने स्वास्थ्यकर्मीलाई कारबाही गर्ने व्यवस्था समेत गरिएको छ । आफ्नोमा उपलब्धता हुँदाहुँदै अर्को स्वास्थ्य संस्थामा सिफारिस गरेमा छ महिनासम्म कैद अथवा ५० हजार रुपैयाँसम्म जरिवाना वा दुबै हुनसक्ने प्राबधान छ । ऐनमा अनिच्छापूर्वक परिवार नियोजन तथा गर्भ निरोधकको साधन प्रयोग गराएमा छ महिनासम्म कैद अथवा रु.५० हजारसम्म जरिवाना वा दुबै हुनसक्ने प्रावधान समेत छ । ऐनमा भनिएको छ,प्रत्येक व्यक्तिलाई परिवार नियोजन सम्बन्धी सुचना,जानकारी,छनोट र सेवा प्राप्त गर्ने अधिकार हुनेछ । मञ्जुरी नलिई बलपूर्वक परिवार नियोजन गराउनु हुँदैन,गर्भ निरोधक साधन प्रयोग गराउँनु हुँदैन् । सुरक्षित गर्भपतन सेवाले ०५९ असोज १० गते कानूनी मान्यता पाएको थियो ।

२७.५ प्रतिशत सुरक्षित गर्भपतन सेवाको पहुँचमा
सुदूर पश्चिम प्रदेशमा सुरक्षित गर्भपतन सेवा २७.५ प्रतिशतले लिएका छन् । जसमा सबैभन्दा बढी कैलाली र सबै भन्दा कम बझांग जिल्लाका महिला रहेका छन् । स्वास्थ्य सेवा निर्देशनालयका अनुसार आर्थिक बर्ष ०७९/०८० मा १३ हजार चार सय ९३ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । कैलालीमा ५ हजार ४ सय ७७ जना (४० प्रतिशत) ले र बझांगमा ३९७ जना (९.४ प्रतिशत) ले सेवा लिएका छन् । क्रमशः कंचनपुरमा २५२२ जना (३१.९ प्रतिशत),डडेल्धुरामा १०६५ जना (३७.७ प्रतिशत), बैतडीमा ६५८ जना (१३.७ प्रतिशत),दार्चुलामा ४२७ जना (१७.६ प्रतिशत), बाजुरामा ९५१ जना (३०.५ प्रतिशत) ले सुरक्षित गर्भपतन सेवा लिएका छन् । आर्थिक बर्ष ०७८/०७९ मा १३ हजार १२१ जनाले सुचिकृत सरकारी स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतन सेवा लिएका थिए । ७२.५ प्रतिशतले अझै पनि असुरक्षित गर्भपतन गराउँदै आएको स्वास्थ्य निर्देशनालयको तथ्यांकले देखाएको छ ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको