तानसेन। रामपुर नगरपालिकाले युवाहरुका लागि एसिस्टेन्ट बारवार र इलेक्ट्रोनिक्स मर्मत तालिम दिन थालेको छ । नगरपालिकाले बेरोजगार तथा सीप सिक्न चहाने युवाहरुका लागि तीन सय ९० घण्टे तालिम सञ्चालन गरेको हाे ।
तालिम लिन चहाने युवाहरुको निवेदनको आधारमा छनौट गरी ४० जना युवाहरुलाई तालिम दिन थालेको छ । तालिमको शुभारम्भ गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले युवाहरुलाई स्वरोजगार संगै आत्मनिर्भर बनाउनका लागि तालिम सञ्चालन गरिएको बताए । उनले दक्ष जनशक्तिको उत्पादनसंगै स्थानीयस्तर तथा स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्देश्यले सीप सिकाइएको बताए।
प्रमुख थापाले दक्ष जनशक्तिको अभावमा अन्य स्थानबाट आएका व्यक्तिहरुले व्यवसाय गरे पनि स्थानीयस्तरमा जनशक्ति भए पनि दक्षताको कमीका कारण व्यवसाय गर्न नसक्ने अवस्थालाई मध्येनजर गर्दै बारवार र इलेक्ट्रोनिक्स तालिम सञ्चालन गरिएको बताए । विभिन्न समयमा युवा लक्षित सीप विकास सम्बन्धि तालिम सञ्चालन गरे पनि तालिम पश्चात सिकेका सिपको सदुपयोग नगरेको पाइएकोले ध्यानपूर्वक तालिममा सिप सिकेर व्यवसाय गर्न आग्रह समेत थापाले गरे । नगर प्रमुख थापाले व्यवसाय प्रबर्द्धनका लागि नगरपालिकाले व्याज अनुदान कार्यक्रम संशोधन गरेर सहयोग गर्ने प्रतिबद्धता जनाए।
कार्यक्रममा रामपुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चेमन प्रकाश पोखरेलले आफुमा भएको सिपको माध्यमबाट व्यवासय बने सफलता पाउने भन्दै लगनशिलताका साथ सिप सिक्न आग्रह गरे । उनले स्वादेश होस वा विदेश जुनसुकै क्षेत्रमा स्वरोजगार बन्नका लागि यस्ता प्राविधिक सिपले सहज हुने बताए।
कार्यक्रममा रामपुर नगरपालिकाका रोजगार संयोजक गणेश प्रसाद रेग्मीले आवश्यकताको आधारमा तालिममा छनौट गरिएकोले व्यवसाय गर्न सक्ने गरी सिप सिक्नु पर्नेमा जोड दिए ।
लुम्बिनी पोलिटेक्निक इन्ष्टिच्युट प्रालिका निर्देशक अरुण अर्यालले दक्ष बनाइ आत्मनिर्भर बन्नका लागि तालिम महत्वपूर्ण हुने बताए। रामपुर नगरपालिकाको आयोजना र लुम्बिनी पोलिटेक्निक इन्ष्टिच्युट तथा आइडियल इन्जिनिरिङ सर्भिसेस प्रालिको प्राविधिक सहयोगमा तालिम सञ्चालन गरिएको हो ।



