जनतासँग माथागढी
तानसेन । माथागढी गाउँपालिकाले १३७ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा पालिका भित्रका पाँच सय बढी श्रमिक तथा मजदुरहरूको दुर्घटना बीमा गरिदिएको छ । श्रम क्षेत्रमा लागेका नागरिकको सुरक्षा र जोखिम न्यूनीकरणका लागि दुर्घटना बीमा गरिदिएको गाउँपालिकाले जनाएको छ । पालिकाले यस वर्ष १८ देखि ६५ वर्ष उमेर समूहका ५११ जना श्रमिकहरूको बीमा गरिदिएको हो ।
सो संख्याका नागरिकलाई कुल २० करोड ४४ लाख रुपैयाँ बराबरको दुर्घटना बीमा गरिदिएको गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले जानकारी दिए । श्रम क्षेत्रमा काम गर्ने नागरिकले भोग्ने जोखिमलाई न्यूनीकरण गर्न र श्रमिकलाई हौसला प्रदान गर्नका लागि श्रमिक दिवसको अवसरमा बीमा कार्यक्रमको सुभारम्भ गरिएको अध्यक्ष चिदीले बताए ।

उनले भने, “कुनै दुर्घटना बाजा बजाएर आउँदैन, सावधानी अपनाउँदा पनि आकस्मिक रूपमा दुर्घटना हुनसक्छ, यस्तो अवस्थामा पालिकाले गरेको दुर्घटना बीमाबापत प्राप्त हुने रकमले उपचारमा मद्दत पुग्नेछ र पीडित तथा आश्रित परिवारलाई ठूलो राहत मिल्नेछ।” पालिकाले विगतका वर्षदेखि नै यस्ताे कार्यकाे सुरूवात गरेकाे अध्यक्ष चिदीले बताए ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुन्दर प्रसाद श्रेष्ठका अनुसार बीमा गरेका श्रमिकहरूले प्रतिव्यक्ति अधिकतम ४ लाख ५० हजार रुपैयाँसम्मको दुर्घटना बीमा सुविधा पाउनेछन् । यदि काम गर्ने क्रममा कुनै श्रमिकको मृत्यु भएमा पीडित परिवारले ४ लाख ५० हजार रुपैयाँ पाउनेछन्। त्यसैगरी, दुर्घटनामा परी घाइते वा अङ्गभङ्ग भएमा सोहीअनुसारको व्यवस्था गरिएको छ भने, साधारण उपचारका लागि १ लाख रुपैयाँसम्मको खर्च पाउने गरी पाल्पास्थित बीमा कम्पनीसँग सम्झौता भएको उनले बताए ।
बीमा भुक्तानीका लागि सम्बन्धित वडा कार्यालयमार्फत प्रक्रिया पूरा गरी पालिकामा सिफारिस हुनु पर्ने प्राबधान छ। गाउँपालिकाले बीमा कार्यक्रममा गाउँपालिकाभित्र दैनिक ज्यालादारीमा काम गर्ने मजदुर, कृषि मजदुर, ज्यामी, सडक सरसफाइमा खटिने कामदार र साना तथा घरेलु उद्योगमा काम गर्ने श्रमिकहरूलाई समेटेको छ । पालिकाले दुर्घटना बीमा गरिदिएपछि कामदार र ज्याला मजदूरी गर्ने नागिरक पनि खुःसी भएका छन् । न्यून अाएस्राेत भएका नागरिककाे सुरक्षामा स्थानीय सरकारले सहयाेग गरेपछि काममा जानु मात्र नभएर दुःखका बेलामा पनि सरकार संगै रहेकाे महशुस भएकाे स्थानीय कामदारले बताएका छन् ।
पालिकाले हरेक वर्ष श्रमिकहरूको सम्मान र जीवन सुरक्षाका लागि यस्तो कार्यक्रम सञ्चालन गर्दै आएको छ। गाउँपालिकाले विगत तीन वर्षयता निरन्तर रूपमा श्रमिकहरूको दुर्घटना बीमा गर्दै आएको जनाएको छ ।






