तानसेन। पाल्पाको रिब्दीकोट गाउँपालिकालाई पूर्ण खोप तथा पूर्ण संस्थागत प्रसुती सेवा सुनिश्चितता भएको गाउँपालिका घोषणा गरिएको छ। बिहीबार गाउँपालिकामा आयोजित कार्यक्रममा चालू आर्थिक वर्षभित्रका आवश्य सूचकहरु पूरा भएपछि जिल्ला खोप समन्वय समितिले पूर्ण खोप तथा पूर्ण संस्थागत सुत्केरीयुक्त पालिका भएको प्रमाणपत्र हस्तारन्तण गर्दै सुनिश्चितता घोषणा गरिएको हो।
कार्यक्रममा पाल्पा क्षेत्र नंं २ का सांसद माधवबहादुर थापाले स्वास्थ्य क्षेत्रमा रिब्दीकोटले हासिल गरेको यो उपलब्धि गौरवपूर्ण रहेको बताए। उनले सुरक्षित मातृत्व र बालबालिकाको स्वास्थ्य सुरक्षाका लागि पालिकाले गरेको प्रयासको प्रशंसा गर्दै यसलाई निरन्तरता दिन आग्रह गरे ।
घोषणा कार्यक्रममा जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल, उपप्रमुख काशिका गैरे, रिब्दीकोट गाउँपालिकाकी उपाध्यक्ष कान्ता अधिकारी र स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख टुक प्रसाद पोखरेलले स्वास्थ्य सूचकहरूमा गाउँपालिकाले उत्कृष्ट काम गरेको उल्लेख गरेका थिए ।
पालिकाले सोही अवसरमा आफ्नो सेवा अवधि पुरा गरी स्वैच्छिक तथा अनिवार्य अवकाश प्राप्त गरेका स्वास्थ्यकर्मीहरूलाई सम्मान समेत गरेको छ। उनीहरूले पुर्याएको योगदानको कदर गर्दै अतिथिहरूबाट प्रमाणपत्र र मायाको चिनो प्रदान गरिएको थियो।
सभ्य र भव्य रूपमा सम्पन्न यस कार्यक्रमले रिब्दीकोटलाई स्वास्थ्य क्षेत्रमा नमूना पालिका बनाउने संकल्पलाई थप बल पुर्याएको पालिका अध्यक्ष नारायण बहादुर कार्कीले बताए। पालिकाले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरेको बताउँदै अध्यक्ष कार्कीले आगामी कोही नागरिक पनि स्वास्थ्य उपचारबाट बाहिर नरहनेगरी काम गरिएको जानकारी दिए।
कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी र अन्य सरोकारवालाको उपस्थिती रहेको स्वास्थ्य शाखा संयोजक सुनिल अधिकारीले बताए ।



