
तानसेन। सिद्धार्थ राजमार्ग आजदेखि दैनिक ६ घण्टा बन्द हुने भएको छ । सिद्धबाबा क्षेत्रमा सुरुङ् मार्ग निर्माण गर्न राजमार्ग बन्द गर्न लागिएको हो ।
पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेलेका अनुसार सडक राति १० बजेदेखि बिहान ४ बजेसम्म बन्द हुनेछ । बन्दका बेला अत्यावश्यक सवारीसाधनलाई भने संचालनमा रोक नलगाइने प्रजिअ काफ्लेले बताए।
राजमार्ग बन्द हुँदा सिद्धार्थ राजमार्ग भएर यात्रा गर्ने यात्रु तथा मालबहाक सवारीसाधन प्रभावित हुनेछन् । सिद्धबाबा सुरुङ् मार्ग निर्माण आयोजना कार्यालयबाट पत्राचार भइ आएकाले योजनाको कामलाई अगाडि बढाउन स्थानीय प्रशासनले सडक बन्द गर्न लागेको हो। सडक सय दिनसम्म दैनिक ६ घण्टा बन्द हुने बताइएको छ ।
सुरुङ् मार्ग निर्माण गर्दा माथिबाट पहिरो र ढुङ्गाहरू खस्ने र यात्रुलाई लाग्न सक्ने भएकाले सडक बन्द गरेर आयोजनाको काम अगाडि बढाउनुपरेको सुरुङ् मार्ग आयोजना कार्यालय बुटवलका प्रमुख रामपुकार जैसवालले बताए ।
सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा एक हजार १२६ मिटर सुरुङ मार्ग बनाउने गरी चाइना कम्पनीसँग सम्झौता भएको छ । सुरुङ मार्ग निर्माणका लागि सात अर्ब ३४ करोड २१ लाख लागत लाग्ने अनुमान गरिएको छ ।
सिद्धबावा सुरुङ् मार्गको हालसम्म ८ प्रतिशत मात्र काम भएको छ । डिजाइन स्वीकृतिमा भएको ढिलाई र सुरुङ् मार्गमा गएको पहिरोका कारण यसको निर्माणमा ढिलाई भएको आयोजना प्रमुख जैसवालले बताए।