
तानसेन। जिल्ला प्रहरी कार्यालय पाल्पाको नयाँ भवन तथा अन्य भौतिक संरचना एक कार्यक्रमकाबीच समुद्घाटन गरिएको छ । आइतबार नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवरले प्रहरीको नयाँ भवनसहित अन्य पूर्वाधारको संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।
समुद्घाटन समारोहमा बोल्दै महानिरीक्षक कुँवरले प्रहरीको सेवा प्रभावकारी बनाउन आवश्यक पूर्वाधार परिपूर्ति आवश्यक रहेकोमा जोड दिए। उनले शान्ति सुरक्षा कायम गर्न प्रहरीसहित आम नागरिक समाजको भूमिका महत्वपूर्ण रहेको बताए।
उनले स्थानीय र प्रदेश सरकारसँग मिलेर कुलतमा फसेका र अप्ठेरोमा परेका नागरिकको सेवाका लागि प्रहरीले योजना बनाइरहेको बताए ।कोशी, बाग्मती र सुधुरपश्चिम प्रदेशमा सुधार केन्द्र संचालनमा रहेको बताउदै बाकी प्रदेशका पनि केन्द्र बनाउने तयारी भएको र सोका लागि स्थानीय तहले समन्वय गर्नुपर्ने उनले बताए ।
कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले प्रहरीलाई कुनै राजनैतिक हस्तक्षेपविना चल्न दिनुपर्नेमा जोड दिए। उनले नेपाल प्रहरी विश्वमै उत्कृष्ठ प्रहरीको रुपमा स्थापित भएको भन्दै प्रहरीलाई सुबिधासम्पन्न बनाउन आवश्यक रहेको उल्लेख गरे ।
सो अवसरमा पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले प्रहरीलाई प्रविधिमैत्री बनाउन सके अपराध तथा अनुसन्धानमा सफलता मिल्ने बताए।
नेपाल सरकारको छ करोड ९५ लाखमा भान्सा घर, स्नान घर, शौचालय, हिरासत कक्ष, व्यारेक तथा प्रहरी प्रमुख र प्रहरी अधिकृतको भवन बनेको पाल्पाका प्रहरी प्रमुख हेरम्भ शर्माले बताए।
कार्यक्रमका अवसरमा उत्कृष्ठ सेवा गर्ने प्रहरी अधिकृत तथा जवान, निर्माण व्यवसायी तथा विभिन्न सङ्घसंस्थालाई सम्मानसमेत गरिएको थियो ।