तानसेन। मुक्तिनाथ कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड तानसेन पाल्पाको १० औ वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभामा पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराईले सहकारी भनेकै एक आपसमा सहकार्य गरेर काम गर्ने एक जनमैत्री अभियान भएको बताए ।
उनले मुक्तिनाथ कृषि सहकारीले आगामी दिनमा कृषि क्षेत्रलाई प्रमुख विषयवस्तु बनाएर काम गर्नुपर्नेमा जोड दिए । साधारणसभामा संस्थाका अध्यक्ष देव बहादुर पचभैयाले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै शेयर सदस्यहरुको रकमलाई कुनै पनि तरिकाबाट जोखिम नहुने गरी संस्थाले काम गर्दै आएको बताए ।
संस्थाका सचिव शंकर भण्डारीले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०७९।८० मा आठ करोड २५ लाख रुपैयाको कारोबार भएको जानकारी दिए । सचिव भण्डारीले आगामी दिनमा सहकारीले गर्नुपर्ने काययोजना प्रस्तुत गरेका थिए ।
कोषाध्यक्ष समिरमान सिंहले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै तीन करोड १९ लाख रुपैया बचत, ९९ लाख ८६ हजार शेयर पुजी, ४ करोड ९९ लाख रुपैया कर्जा लगानी रहेको साधारण सभामा जानकारी दिए ।
लेखा सुपरिवेक्षण समितिका संयोजक फर्सुराम सापकोटाले कार्यसमितिले गरेका काम, ऋण उप समितिले गरेका लगानी, नीति नियम हालको सहकारीको अवस्थाबारे चर्चा गरेका थिए । कार्यक्रममा सल्लाहकारहरु मोहन प्रसाद श्रेष्ठ, हरी रायमाझी र भिमशेन कार्कीले पैसाको कारोबार गर्दा निकै संवेदनशील, जिम्मेवार भई काम गर्न कार्यसमिति तथा ऋण उपसमितिलाई सुझाव दिए ।
साधारणसभा संस्थाका अध्यक्ष देवबहादुर पचभैयाको अध्यक्षता, उपाध्यक्ष विनोद पंन्थीको स्वागत तथा संस्थाका सचिव शंकर भण्डारीको संचालनमा सम्पन्न भएको थियो ।

