पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ पाल्पामा नयाँ नेतृत्व

तानसेन। नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ पाल्पाको अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । महासंघको शनिबार सम्पन्न १४ औं वार्षिक साधारण सभा तथा सातौं जिल्ला अधिवेशनले रामप्रसाद पन्थीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।

समितिको उपाध्यक्षमा युवराज पन्त, सचिवमा विष्णु प्रसाद खनाल, सह–सचिवमा शिव प्रसाद पाण्डे र कोषाध्यक्षमा ज्योती कार्की सर्वसम्वत चयन भएका छन् । यस्तै सदस्यहरुमा हरीबहादुर बाह्रघरे, सञ्जय घर्ती, लक्ष्मण भण्डारी, जमुना न्यौपाने, गोपीकृष्ण आचार्य र ज्ञानु पाण्डे चयन भएको सचिव विष्णुप्रसाद खनालले जानकारी दिए।

सभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य खेमबहादुर सारुले संघीयता कार्यान्वयनमा आए पनि व्यवसायी मैत्री कानुन नआउँदा व्यवसायी सुरक्षामा चुनौती देखिएको बताए । उनले पुस्तक व्यवसायीहरु मात्रै नभई अन्य व्यवसायीसमेत समस्यामा परेको बताए । उनले व्यवसायीको हकहितका लागि तीनै तहका सरकारले व्यवसायी मैत्री कानुन निर्माण गर्न आवश्यक रहेको औल्याए ।

महासंघका केन्द्रीय सदस्य गणपति पाण्डेले व्यवसायीको अधिकार सुनिश्चित गर्न महासंघ लागि परेको बताए । महासंघका अर्का केन्द्रीय सदस्य कमलराज तिमिल्सिनाले पुस्तकको सहज आपूर्तिको व्यवस्थाका लागि महासंघ प्रतिवद्ध भएर लागेको बताए।

तानसेन नगरपालिका –६ का वडा अध्यक्ष सागरमान महर्जनले पुस्तक तथा स्टेशनरी व्यवसाय अन्य व्यवसायहरु भन्दा विशिष्ट व्यवसाय रहेको बताए । पुस्तक व्यवसायीले व्यवसाय मात्र नभई सेवा गरिरहेको पनि उनले उल्लेख गरे ।

पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराईले सरकारको ठोस नीति नआउँदा व्यवसायीहरु कर तिरेर बस्न मात्र बाध्य भएको बताए । पाल्पा व्यापार संघका अध्यक्ष बामदेव गौतमले व्यासाय धरासायी बन्दै गए पनि राज्यले ध्यान दिन नसकेको गुनासो गरे ।

कार्यक्रममा महासंघ लुम्बिनी प्रदेशका सचिव केशव श्रेष्ठ, रुपन्देहीका अध्यक्ष गोपाल बस्याल, महासंघ पाल्पाका संस्थापक अध्यक्ष केदारलाल श्रेष्ठ, प्याव्सन पाल्पाका अध्यक्ष महेशमान बज्राचार्य, महासंघ पाल्पाका सल्लाहाकार राजेन्द्र लिगल, महासंघका प्रेस सल्लाहाकार मुक्ति न्यौपानेलगायतले आ–आफ्ना धारणा राखेका थिए ।

कार्यक्रममा महासंघ पाल्पाका अध्यक्ष किशोर भट्टराईले महासंघले गरेका कार्य र प्राप्त उपलब्धीको बारेमा जानकारी गराएका थिए । सोही अवसरमा महासंघले महासंघका प्रेस सल्लाहाकार मुक्ति न्यौपाने ,पत्रकार इमान सिं रानासहित महासंघलाई सहयोग गर्ने विभिन्न व्यक्ति तथा संस्थाहरुलाई सम्मानसमेत गरेको थियो ।

महासंघका अध्यक्ष किशोर भट्टराईको अध्यक्षता, उपाध्यक्ष भेषराज पोख्रेलको स्वागत र सचिव तारा सुनारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया