तानसेन। दुई सय वर्षभन्दा पहिलेदेखि नेपाली सेनाले अंग्रेज फाैजलाई पराजित गरेको खुसीमा मनाइने पाल्पास्थित रणउजेश्वरी भगवतीको रथ यात्रालाई राष्ट्रिय मान्यता दिन नेपाल सरकार सकारात्मक भएको छ । हालै तानसेन नगरपालिकाको अगुवाइमा राष्ट्रपति र प्रधानमन्त्रीसंग यो पर्वलाई राष्ट्रिय मान्यता दिनका लागि गरिएको मागमा सरकार सकारात्मक रहेको उनीहरुले प्रतिक्रिया दिएको तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले जानकारी दिए ।
संघीय सासंद ठाकुर प्रसाद गैरे, नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठ, नेकपा (माओवादी केन्द्र)का पाल्पा इन्चार्ज अनिलकिशोर घिमिरे, केन्द्रका पाल्पा संयोजक राजेन्द्र विश्वकर्मा, इतिहासका जानकार निर्मल श्रेष्ठ भगवती मन्दिर व्यवस्थापन गुठीका प्रतिनिधिसहितको टोलीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्षकमल दाहाल प्रचण्ड, सूचना तथा सञ्चार मन्त्री रेखा शर्मा र पर्यटन मन्त्री सुधन किरातीसंग गरेको छुट्टा-छुट्टै भेटमा भगवतीको रथ यात्रालाई विजय उत्सवका रुपमा मनाउन सकारात्मक भएको पाइएको हो।
तानसेन नगरपालिकाकी उपप्रमुख प्रतिक्षा गाहाँ सिजालीकाअनुसार देशकै गौरव गाथासंग जोडिएको इतिहासलाई राष्ट्रका प्रमुखले नै प्राथमिकता दिनुपर्ने मान्यताका साथ पर्वलाई विशेष महत्वका साथ मनाउन राष्ट्रिय पर्व मनाउनुपर्ने माग राख्दै पाल्पाली टोलीले अनुरोध पत्र बुझाएकोमा सबै जना सकारात्मक भएको र त्यसबारे छलफल गरिने प्रतिक्रिया दिइएको पाइएको हो ।
नेपाल अंग्रेज (नुवाकोट जितगढी) युद्धको विजयोत्सवका रूपमा मनाइने भगवती रथयात्रा प्रत्येक वर्ष भाद्र शुल्क अष्टमीको रात जागराम बसी नवमीका दिन सिन्दुर जात्रासहित भगवतीको रथयात्रा निकालिदै आएको छ ।
संघीयतापछि स्थानीय तथा प्रदेश सरकारले राष्ट्रियता, वीरता, धीरता र रणकौशलको इतिहास बोकेको भगवती खट यात्रालाई राष्ट्रिय पर्वको रूपमा मान्यताअनुसार स्थानीय विदा दिँदै आएका छन् ।



