
तानसेन। पाल्पामा भएको जिप दुर्घटनाका घटनास्थलमै मृत्यु हुने आठमध्ये ६ जना तथा उपचारका क्रममा मृत्यु भएका दुई जनाको पहिचान खुलेको छ । दुर्घटनामा परी अन्य १७ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा तिनाउ–६, की ६० वर्षकी यनकुमारी पन्त, सोही स्थानका ३९ वर्षीय रामबहादुर पन्त, ६७ वर्षका कृष्णबहादुर अस्लामी, २८ वर्षकी उर्मिला अस्लामी रहेको प्रहरीले जनाएको छ । यस्तै बुटवल उपमहानगरपालिका–१४ का ७० वर्षीय चन्द्र रणपाल र उहाँकी श्रीमती ६० वर्षकी चुना रणपालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए।
यस्तै उपचारका क्रममा घाइतेमध्ये तिनाउ–२, की २० वर्षीया गीता सुनार र रिब्दीकोट १ की ६६ वर्षीया विष्णुकला कामीको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यकमध्ये दुई जनाको पहिचान खुल्न नसकेको सूचना अधिकारी श्रेष्ठले बताए।
दुर्घटनामा परी सात जना बालबालिकासहित अन्य १७ जना घाइते भएका छन् । घाइते भएकाहरुको तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा उपचार जारी रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार रिब्दीकोट–१, की विद्या सुनार, सोही स्थानकी माया सुनार, आरभ सुनार घाइते छन् । यस्तै तिनाउ–६, का सौरभ पुन, रुपन्देहीको खैरेनीका विवेक जिसी, अस्मित जिसी र पहिचान नखुलेको दुई महिनाकी बालिका घाइते भएको लुम्विनी मेडिकल कलेजका कम्पनी सचिव कृष्णप्रसाद पराजुलीले जानकारी दिए।
यस्तै तिनाउ–६, की कृष्णा पन्त, सोही स्थानकी उमा रास्कोटी, अमृता गहतराज, शान्ति राना, कुलबहादुर नेपाली घाइते हुनुभएको छ । रिव्दीकोट–१ की रमा सुनार, रुपन्देही हरैयाकी भूमि पुन, तानसेन–१० का दानबहादुर चिदी, र कमला सुनार घाइते भएको अस्पतालले जनाएको छ ।
मङ्गलबार बेलुकी पौने ५ बजेतिर तिनाउ गाउँपालिकाको वडा नं. ६, चिदिसमा लु १ ज २३७१ नम्बरबको जिप दुर्घटना भएको थियो । प्रहरीका अनुसार जिप सडकदेखि तीन सय मिटर तल खसेको थियो ।
डुम्रेदेखि चिदिसतर्फ जादै गरेको जिप क्षमताभन्दा बढी लोड र उकालोमा सवारीसाधनले तान्न नसक्दा व्याक भएर दुर्घटना भएको प्रहरीको दावी छ।