
तानसेन। लुम्बिनी प्रदेश सभाका सदस्य बीरबहादुर रानाले जन्म घर फर्केर हेर अभियान सञ्चालन गर्न आवश्यक रहेको बताएका छन् । अहिले गाउँहरु रित्तिदै गएको सन्दर्भमा पुनः गाउँबाटै समाज र सिंगो मुलुकको विकासका लागि जन्मघर फर्किएर हेर्नुपर्ने बेला आएको उनले बताए ।
रैनादेवी छहरा गाउँपालिकाको आयोजना र जिल्ला भलिबल संघ पाल्पाको समन्वयमा सुरु प्रतियोगिता सुरु भएको अन्तरपालिकास्तरीय चौथो अध्यक्षकप पुरूष भलिबल प्रतियोगिता उद्घाटन गर्दै उनले खेलको माध्धयमबाट पर्यटन विकास र गाउँलाई हराभरा बनाउन पनि पहल गर्न सकिने बताए ।
गाउँघरमा मानिसहरु कम रहेको विषयलाई जोड दिँदै उनले भने,-“विगतमा गाउँमा विकास थिएन तर आम नागरिकहरू गाउँघरमै थिए । अहिले विकास गाउँतर्फ आउँदा दिन प्रतिदिन गाउँघर उजाड बन्दै गएका छन् । गाउँलाई हराभरा बनाउन र आम नागरिकलाई आफ्नो गाउँतर्फ फर्काउन अब गाउँ फर्क अभियान गर्नुपर्ने बेला आएको छ । सासंद रानाले आफु प्रदेश सांसद भएको नाताले यो अभियान आफुले नै सुरु गर्ने बताए।”
रैनादेवी छहरा ५ मुझुङ्ग कटौजेपानी खेलमैदानमा आजबाट सुरु भएको प्रतियोगितामा रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्की, रैनादेवी छहरा गाउँपालिकाका पूर्वअध्यक्ष रामबहादुर कार्की, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक घिमिरे, रामपुर नगरपालिकाका नगरप्रवक्ता कपिल बहादुर खाँड, एमाले रैनादेवी छहराका प्रतिनिधि झपिन्द्र रायमाझीलगायतले खेलकुदको माध्यमबाट युवालाई अन्तरमिलन गराउने अभ्यास भएको बताउँदै सबै पालिकाका खेलाडीबीचको सम्बन्धलाई अझ प्रभावकारी बनाउने बताएका थिए ।