
तानसेन। पाल्पबाट दुई वर्षभित्र सात सय ४७ जनाले जग्गाधनी पूर्जा प्राप्त गरेका छन् । भूमि आयोग पाल्पाले दुई वर्षको अवधिमा जिल्लाका विभिन्न स्थानीय तहसंग सन्वय गरी काम गर्ने क्रममा रामपुर नगरभित्र सो संख्यामा पूर्जा वितरण गरेको जनाएको छ ।
आयोगका पाल्पा अध्यक्ष मोहनलाल गैरेका अनुसार रामपुर नगरपालिकाबाट ७ सय ८३ वटा अव्यस्थितहरुका निवेदन परेकोमा ७ सय ४७ वटा लाल पुर्जा वितरण गरिएको हो ।
यस्तै ९ वटा लालपुर्जा मालपोत कार्यालयमा अध्यावधिक गरेको, १० वटा आयोगको गठन आदेश अनुसार फछ्र्यौट गरी निर्णय गरेको र १६ वटाको कित्ता एकीकरण भएको छ । समितिले अहिले तानसेन नगरपालिका भित्रको अव्यस्थित तथा भूमिहिन दलित तथा सुकुम्वासीको क्षेत्रमा काम शुरु गरेको एक कार्यक्रमकाबीच जनाकारी दिएको हो ।
जिल्लामा ८ वटा पालिकाबाट भूमिहिन दलित ३ सय ३ जना, भूमिहिन सुकुम्वासी, ६ सय ७१ जना,अव्यस्थित बसोवास ७ हजार ३ सय १७ जना गरी जम्मा ८ हजार २ सय ९१ जनाको निवेदन परेकोमा ५ हजार जनाको आयोगको सिष्टममा दर्ता भएको आयोगका जिल्ला अध्यक्ष गैरेले बताए।
यस्तै वि.स. २०५५ सालमा बनेको जिल्ला सुकुम्बासी आयोगले वितरण गरेको ४०५ जग्गाको लालपुर्जाको नक्सा, श्रेष्ता, फिल्डवुक फेला नपरेको पनि समितिले जनाएको छ ।