
तानसेन। बढ्दो रासायनिक मलको प्रयोग घटाउन पाल्पामा प्राङ्गारिक मल कारखाना सञ्चालनको तयारी भएको छ । जिल्लाको रिब्दीकोट गाउँपालिकाले स्थानीय सहकारी संस्थासँगको सहकार्यमा प्राङ्गारिक मल कारखाना सञ्चालन गर्न थालेको हो ।
आगामी तीन महिनाभित्र कारखाना सञ्चालन गर्ने गरी पूर्वाधार निर्माणको काम सुरु भएको छ । मल उत्पादन कारखाना सञ्चालनका लागि गाउँपालिकाले १५ लाख रुपियाँ बजेट विनियोजन गरेको छ । यस्तै नपुग ३० लाख बजेट स्थानीय जलेश्वर बहुउद्देश्यीय सहकारी संस्थाले बेहोर्ने गरेर संरचना निर्माणको काम सुरु भएको गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले जानकारी दिए।
कारखाना संचालनका लागि स्थानीय जलेश्वर बहुउद्देयीय सहकारीसंग समन्वय गरेर भनव निर्माणसमेत सुरु भएको छ । प्राङ्गारिक मलतर्फ किसानलाई आकर्षित गर्ने योजनाका साथ कारखाना सञ्चालनको काम सुरु भएको कारखानाले पछिल्लो समय रासायनिक मलको अत्यधिक प्रयोग बढेकाले त्यसलाई घटाउन सहयोग पुग्ने गाउँपालिकाले लिएको छ।
वार्षिक दुई सय ५० टन प्राङ्गारिक मल उत्पादन गर्ने लक्ष्यसहित कारखाना सञ्चालनको तयारी भएको जलेश्वर सहकारीका अध्यक्ष नारायणबहादुर लामटाङ्गेले जानकारी दिए ।
कारखाना दिगो रूपमा सञ्चालनका लागि ५१ प्रतिशत सहकारी र ४९ प्रतिशत किसान, उपभोक्ताको लगानी रहने बताइएको छ ।