
तानसेन। पाल्पाको तानसेनमा शुक्रबारदेखि हुने अन्तर व्यवस्थापिका अन्तरसंवाद भेलाको तयारी पूरा भएको छ । दुई दिनसम्म चल्ने उक्त सम्मेलनको तयारी पुरा भएको लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तिमगरले बिहिबार जानकारी दिएका हुन् ।
सभामुख घर्तिमगरका अनुसार भेलाका लागि संघीय ससदका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेसहित सातै प्रदेशका सभामुख, उपसभामुख, प्रदेशसभा सचिव लगायतको उपस्थिति रहेको छ ।
लुम्बिनी प्रदेशसभा सचिवालयले आयोजना गरेको भेलामा संसदीय बजेट महाशाखा सम्बन्धी अवधारणापत्र लुम्बिनी प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले, उत्तरविद्यायिकी परीक्षण कार्यविधि संघीय संसद सचिवालयका सचिव सुदर्शन खड्का, अन्तर व्यवस्थापिका मञ्च, नेपालको विद्यान प्रस्तुति लुम्बिनी प्रदेश सभा सचिव पुनले प्रस्तुत गर्ने कार्यक्रम छ । भेलामा सातै प्रदेशका सभामुख, प्रदेशसभा सचिवले समूहगत छलफल गर्नुका साथै आफ्ना सुझाव राख्ने कार्यक्रम रहेको पनि सभामुख घर्तीले बताए ।
संघीयतालाई कार्यान्वयनलाई कार्यान्वयन गर्ने, प्रदेशलाई स्थापित गर्ने र अहिले बनेको संसदले अन्तरव्यवस्थापिका अन्तर संवाद कार्यक्रम राखिएको सभामुख घर्तिमगरले बताए । एकअर्काले गरेको अभ्यासलाई सिकाई हुने र अन्तर व्यवस्थापिका मञ्च नेपाल बनाउन तयारी समेत रहेको सभामुख घर्तील बताए ।
संघीयता कार्यान्वयनसँगै तीन तहका सरकार स्थापना भए पनि जनताले त्यसको अनुभूति गर्न नपाएकाले यस विषयमा छलफल हुने उनले बताए । तीनै तहका सरकारले जनताको समस्या समाधान गर्ने कानुन निमार्ण गरी अघि बढ्ने विषयमासमेत छलफल हुनेछ । त्यसका लागि स्थानीय र प्रदेश सरकार बलियो हुनुपर्ने उनले बताए । प्रदेशको सफलतासँगै संघीयताको सफलता जोडिएको उनले बताए ।
उनले संघबाट आवश्यक कानुन नबन्दा प्रदेशका लागि आवश्यक कानून निमार्ण गर्न नसकिएको उल्लेख गर्दै सबैको छलफलपछि साझा अधिकारका सूचीभित्र रहेका कानून निमार्ण र प्रदेशका सभामुखसंगको समन्वयका लागि पनि यो भेलाले महत्वपूर्ण हुने विश्वास गरिएको बताए। शनिवार सम्पन्न हुने भेलााले पाल्पा घोषणापत्र जारी गर्नेछ ।
संघ र सातै प्रदेशका सभामुखसहितको टोलीले पाल्पाका विभिन्न ऐतिहासिक र पर्यटकीय स्थलको अवलोकन गर्नेसमेत कार्यक्रम रहेको हुँदा जिल्लाको पर्यटन पर्वधनमा समेत टेवा पुग्ने विश्वास गरिएको छ ।