पाल्पामा बढ्दै औलो रोगका बिरामी

तानसेन। पाल्पामा औलो (मलेरिया) का बिरामी देखिने क्रम बढेको छ । भारतका विभिन्न स्थानमा काम गर्न जाने मानिससंगै स्थानीय रुपमा पनि या रोग सार्ने लामखुट्टेको संक्रमणबाट बिरामीको संख्या बढेको हो ।

स्वास्थ्य कार्यालय पाल्पाका अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा छ जनामा औलोको संक्रमण देखिएको हो । गत आर्थिक वर्षमा पाल्पामा पाँच जनामा औलोको पुष्टि भएको थियो । केही वर्ष पहिलेसम्म वर्षमा एक।दुई जनामा मात्र देखिने यो रोग जाँच बढाएपछि बिरामी भेटिने क्रम पनि बढेको स्वास्थय कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्रकुमार गिरीले जानकारी दिए।

पाल्पाबाट मुख्यतया भारतका विभिन्न स्थानमा काम गर्न जाने मानिसमा मलेरियाको पुष्टि भएको भेटिएको छ। यस्तै स्थानीय प्रजाति अन्तरगत पूर्वखोला रिङ्नेरहमै बसोबास गर्ने एक जना मानिसमा पनि मलेरियाको संक्रमण देखिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

घरमै बस्दै आएका मानिसमा मलेरिया पुष्टि भएपछि त्यहाँ अन्य मानिसलाई पनि जाँच गर्ने तथा मलेरियाबाट बच्न झुल वितरणको कार्यक्रम गर्ने तयारी भइरहेको छ । यो वर्ष पूर्वखोला गाउँपालिकाका एक, रामपुरका दुई, माथागढीका दुई र तानसेनका एक जनामा मलेरिया देखिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

मलेरियालाई सन् २०२५ सम्ममा उन्मूलन गर्ने विभिन्न कार्यक्रम गरिएको छ । पाल्पामा गत वर्ष शङ्कास्पद एक हजार ८१७ जना र यो वर्षको हालसम्म तीन हजार ४५८ जनाको रगत परीक्षण गरिएको छ ।

पाल्पामा २४२ जना मानिस मलेरियाबाट प्रभावित भएको अनुमान गरिएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी टीकाराम अधिकारीले बताए। लामखुट्टेको टोकाइबाट सर्ने यो रागेको संक्रमणबाट हालसम्म कुनै पनि बिरामीको मृत्यु नभएपनि संक्रमण भएमा ज्वरो आउने, थकान महसुस हुने, बान्ता हुने र टाउको दुख्ने जस्ता लक्षण देखिने हुन्छ ।

यसबाट जोगिन झुल टा्ने र लामो बाहुला भएको कपडा प्रयोग गर्ने संक्रमित बिरामीबाट टाढा बस्नेजस्ता उपाए अपनाउन चिकित्सक सुझाव दिएका छन् ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer