तानसेन। पाल्पाको रिब्दीकोट गाउँपालिकामा कपडा बैंकको स्थापना भएको छ । क्लोथ एण्ड फुड बैङक नेपालसंगको सहकार्यमा पहाडी जिल्लामै पहिलो पटक कपडा बैंकको स्थापना भएको हो।
स्थानीय स्तरमा प्रयोगमा नआउने कपडाहरुलाई संकलन गरी त्यसबाट पुनःप्रयोग गरी कपडा बिहीनलाई निःशुल्क उपलब्ध गराउने उद्देश्यले कपडा बैंक स्थापना गरिएको गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले बताए। स्थानीय सरकारले नागरिकको घर आँगनको सरकार भएको हुँदा जाडोको समयमा कतिपय नागरिकलाई कपडाको अभावले उत्पन्न हुने समस्या समाधानका लागि पनि कपडा बैंकले सहयोग पुग्ने विश्वासले बैंकको स्थापना गरिएको अध्यक्ष कार्कीले बताए ।
स्थानीय स्तरबाट संकलित कपडाबाट विपद्को समयमा र जाडोमा विपन्न परिवारलाई प्रमुख प्राथमिकतामा राखेर कपडा बैंक संचालन गरिनेछ । पुनः प्रयोग नगरी घरमै थन्काएर राखेका कपडा ढाड बन्ने तर, केही नागरिक कपडा विहीन रहने अवस्थाको अन्त्यका लागि कपडा बैंकमार्फत राहत मिल्लने विश्वास लिइएको छ ।
प्रयोगमा नआएका पुराना लत्ता कपडाहरुलाई पुनः प्रशोधन गरी आवश्यकताका आधारमा मौसमअनुसार कपडा निःशुल्क वितरण गर्ने व्यवस्था मिलाइएको छ । विपन्न तथा गरिब वर्गलाई उनीहरुको घरघरमै कपडा वितरण गर्ने अभियान स्वरुप बुटवलबाट सुरु भएको अभियान हालसम्म १४ वटा कपडा बैक संचान गरिएको र १८७ वटा स्थानीय तहमा शाखा विस्तार गर्ने तयारी रहेको बैङ्कका अध्यक्ष कमल जिसीले जानकारी दिए ।
रिब्दीकोट गाउँपालिकाको दुई लाख सहयोग तथा अन्य रकमको व्यवस्था संचालक संस्थाले गरेको छ । कपडा बैंक स्थापना भएपनि स्थानीयले दैनिक रुपमा प्रयोगमा नआएका कपडा बैंकमा राख्ने गरेका छन् ।
करिब सात टन क्षमताकाे कपडा बैंकमा संकलित कपडा प्रसोधन गरेर वितरणको तयारी मिलाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पोखरेलले बताए ।
हालका लागि कपडा बैंकका रुपमा संचालन गरिएपनि दीर्घकालमा फुड बैंकका रुपमा पनि विकास गर्ने लक्ष्य राखिएको छ ।





















