पाल्पा। पूर्वसांसद सोमप्रसाद पाण्डेयले आफू अहिले सांसदको रुपमा नरहेपनि पाल्पाको विकास र समृद्धिको लागि निरन्तर लागिपरेको बताएका छन् ।
सोमबार पाल्पाका पत्रकारहरुसंग कुराकानीमा आगामी वर्षको बजेटमा पाल्पाका लागि विशेष आवश्यकताका योजनाहरुलाई समेट्ने गरी सम्बन्धित मन्त्रालयमा आफूले बजेट माग गरेको पनि उल्लेख गरे ।
पूर्वमन्त्रीसमेत रहेका पाण्डेयले पाल्पामा ब्लड बैंक स्थापना कार्यका लागि भवन निर्माणमा शहरी विकास मन्त्रालयमा रु २ करोड बजेट विनियोजनका लागि आफूले ध्यानाकर्षणपत्र बुझाएको बताए । यस्तै टक्सारमा रहेको महाचैत्य बिहारको प्रवर्धनका लागि सभाहल निर्माण र अन्य जीर्णोद्धार कार्यका लागि पनि बजेट माग गरिएको बताए ।
उनले आगामी वर्षको बजेटमा माग गरेका शिर्षकहरु समावेश हुने दावी गरे । पाण्डेयले माण्डव्य बहुमुखी क्याम्पस हातामा बहुउद्देश्यीय भवन निर्माण, बगनासकालीको दरुङ्गाबाट चिउरीबासहुँदै राम्दीसम्मको मोटरबाटो स्तरोन्नतिका लागि पनि आफूले पहल गरेको बताए
।
नेकपा एकीकृत समाजवादीका लुम्बिनी प्रदेश अध्यक्षसमेत रहेका पाण्डेयले स्थानीय तहहरुमार्फत माग भएका योजनाहरुमा मन्त्रालयहरुसँग समन्वय गर्ने, क्रमागत योजनाहरुको निरन्तरताको विषयमा पहल गर्ने कार्यमा आफू लागि परेको बताए ।
पाण्डेयले तानसेनलाई ऐतिहासिक शहरको रुपमा विकास गरी लुम्बिनीमा आएका बौद्धमार्गीहरुलाई तानसेनसम्म ल्याउने, तानसेनको श्रीनगरलाई बौद्ध गार्डेनको रुपमा विकास गर्ने गरी योजना बनाउनुपर्ने र उक्त कार्यका लागि आफूले सक्दो सहयोग गर्ने बताए ।
उनले भने, “अब पाल्पाको भविष्य भनेकै पर्यटनमा छ । यहाँका पर्यटकीय स्थलहरुलाई प्रवर्धन गर्दै पाल्पाको विकास छुट्टै तरिकाले गर्ने दीर्घकालिन योजना बनाउनुपर्छ।”
पत्रकारको जिज्ञासामा पाण्डेयले आफू राजनीतिमा सक्रिय अर्थात पदमा नरहे पनि जनताको साथ रहेर जनताकै लागि काम गर्दै आएको उल्लेख गरेका थिए ।

