तीन दिनसम्म लुम्बिनीसहितका स्थनमा तातो हावाको लहर चल्ने

काठमाडौं। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा तातो हावा र तातो लहरको सम्भावना रहेको जनाएको छ।

मंगलबार ती क्षेत्रमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा त्यसभन्दा बढी मापन गरिएको थियो । जेठ १६ देखि १८ गतेसम्म तराईका  भू-भागहरूमा  अत्याधिक गर्मीको सम्भावना रहने हुनाले आवश्यक तयारी गर्न तथा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

तातो हावा तथा तातो लहरबाट थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्ने जनाइएको छ।

यसबाट बँच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहन, बाहिरी वातावरणमा बढी नजाने, हल्का र सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने नियमित पानी तथा झोल पदार्थ जुस, सर्वत, आदि प्रशस्त मात्रामा पिउने गर्न पनि सुझाव दिइएको छ ।

स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसंग नियमित सम्पर्कमा रहन महाशाखाले अनुरोध गरेको छ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer