पूर्वखोलामा सहकारी सम्बन्धि तालिम

तानसेन। पूर्वखोला गाउँपालिकाले सहकारी संस्थाका पदाधिकारी तथा कर्मचारीहरु क्षमता विकास तालिम प्रदान गरेको छ । सहकारी सम्बन्धि ज्ञान वृघिका लागि चार दिने क्षमता विकास तालिम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका ६ वटै वडामा रहेका सहकारी संस्थाको संस्थागत विकास तथा सहकारी संस्थाका पदाधिकारी तथा कार्यरत कर्मचारीको क्षमता विकास गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।

सहकारीका तर्फबाट तालिममा ३२ जनाको सहभागिता रहेको थियो । तालिममा जिल्ला सहकारी संघ पाल्पाका अध्यक्ष भुपती पाण्डे, जिल्ला सहकारी संघ रुपन्देहीका महासचिव दामोदर पंगेनी, पाल्पा रारा बचत तथा ऋण सहकारी संस्थाका लेखा संयोजक यज्ञ प्रसाद श्रेष्ठ र गाउँपालिका स्तरीय सहकारी समन्वय समिति संयोजक यमबहादुर खत्रीले सहकारी व्यवस्थापन र क्षमता विकासका विषयमा सहजीकरण गरेका थिए ।

तालिमको समान समारोहमा बोल्दै गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले सहकारी संस्था हुँदा खाने वर्गको सारथी भएको बताए। उनले सहकारीले उद्देश्य अनुसार आर्थिक रुपमा पछाडि परेको वर्गलाई उत्थान गर्ने गरी काम गर्नुपर्नेमा जोड दिए ।

पछिल्लो समय सहकारीका विषयमा आइरहेका नकरात्मक समाचारले कारोबार गर्नेहरुलाई पनि सहकारीप्रति अविश्वास बढ्को रहेको बताउँदै अध्यक्ष थापाले सहकारीका जिम्मेवार पदाधिकारी तथा कर्मचारीहरुलाई सहकारीको मर्मअनुसार काम गर्नुपर्छ भन्ने उत्साह थप्न तालिम आयोजना गरिएको बताए ।

गाउँपालिका उपाध्यक्ष भागीरथी शर्मा भट्टराईले सहकारीसंग आबद्ध नागरिकलाई समय अनुसार क्षमता विकास तालिम सञ्चालन गर्दा सेवा प्रवाहमा सहयोग पुग्ने बताइन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठले सहकारी संस्थाका सञ्चालकहरुलाई जिम्मेवार बनाउन र कर्मचारीको क्षमता विकासका लागि तालिम सफल भएको विश्वास व्यक्त गरे ।

यसैबीच गाउँपालिका भित्र दर्ता भएर निष्कृय रुपमा रहेका सहकारी संस्थाहरुका लागि एक दिने अन्तरक्रिय कार्यक्रम समेत गरिएको छ । कार्यक्रममा २ वटा वडामा रहेका निष्कृय सहकारी संस्थाहरुको पदाधिकारीहरुलाई भेला गराई अन्तरक्रिया तथा छलफल गरिएको हो । पूर्वखोलामा ६ वडाका १४ वटा सहकारी संस्था दर्ता भएका छन् ।

जसमध्ये १० वटा सहकारी संस्था सक्रिय रुपमा नागरिकलाई सेवा प्रवाह गरिरहेका छन ।

तपाईको प्रतिक्रिया