अपाच्य गीत नगाउने कलाकारको लिखित प्रतिबद्धता

 काठमाडाैं। नौ जना लोक तथा दोहोरीगीतका कलाकारले अभद्र र अपाच्य गायन प्रस्तुति नदिने लिखित प्रतिबद्धता जनाएका छन् । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले १२ जना कलाकारलाई पत्र काटेरै स्पष्टीकरण सोधेकोमा नाै जनाले  लिखित प्रतिबद्धता जनाएका हुन्। तीन जना कलाकारले भने स्पष्टीकरणको जवाफ दिएका छैनन् ।

शर्मिला रायमाझी, शंकर सुनार, नवराज काप्री (धादिङे भाले), सुशीला लामा, तारा थापा, सागर बिसी, सीताराम परियार, सलिना नेपाली र विशाल सोनीले लिखित स्पष्टीकरण बुझाएका हुन् ।

अपाच्य प्रस्तुतिमार्फत दोहोरीमा विकृति भित्र्याएको भन्दै प्रतिष्ठानले केही दिनअघि स्पष्टीकरण मागेको थियो । संस्थाका केन्द्रीय सदस्य गायक बालचन्द्र बराललाई ६ महिनाका लागि संस्थाबाट निलम्बन समेत गरेको थियो । साथै, उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई भेटेर यस विषयमा जानकारी गराएको थियो ।

तपाईको प्रतिक्रिया