प्लास्टिक मुक्त शहर बनाउन तानसेनमा फोहोर टिप्ने प्रतियोगिता

तानसेन।  पाल्पालाई प्लास्टिक मुक्त पार्ने उद्देश्यले फोहोर टिप्ने दौड प्रतियोगिता गरिएको छ । जिल्लाका २० वटा विद्यालयका कक्षा ८ देखि १० सम्म अध्ययनरत १२० जना बालबालिका प्रतियोगितामा सहभागी भएका थिए । जिल्ला सदरमुकाम तानसेनको टुडिखेलबाट मुख्य चोकहरु हुँदै साढे चार किलोमिटरको दौड प्रतियोगिता रोट्रयाक क्लब अफ पाल्पा लुम्बिनीले रोटरी क्लब तानसेनसंगको समन्वयमा आयोजना गरेको हो।

प्रतियोगितामा एक सय ५० किलो प्लास्टिकजन्य फोहोर संकलन भएको थियो । विद्यार्थीमार्फत जनचेतनामूलक सन्देश प्रवाह गरी आम नागरिकले खुल्ला रुपमा फोहोर फाल्न हुँदैन भन्ने मान्यता स्थापित गर्नका लागि प्रतियोगिताको आयोजना गरिएको क्लबका अध्यक्ष अभिशेष शाहले बताए।

प्रतियोगितमा छात्रातर्फ दिव्यज्योती माविकी पुजा सुनार पहिलो, दमकडा माविकी राखी गाहा दोस्रो र जनता माविकी सुस्मीता घर्तीले तेस्रो स्थान हासिल गरे।

यस्तै छात्रतर्फ बेथल बोडिङ्ग सेकेण्डरी स्कुलका नरजन सिंजाली पहिलो, बेथलकै क्रिस घर्ती दोस्रो र महेन्द्रबोधी माविका विकल्प सुनारीले तेस्रो स्थान हासिल गरे ।

यस्तै विद्यालयतर्फ बेथल स्कुल पहिलो, सरस्वती मावि सुन्दर गाउँ दोस्रो र दिव्यज्योति मावि कसेनीले तेस्रो स्थान हासिल गरे । जसमा बेस्ट स्कुलको उपाधि बेथल स्कुलले हात परको आयोजकले जनाएको छ ।

विजेता विद्यार्थी र विद्यालयहरुलाई पुरस्कार वितरण गर्दै तानसेन ६ का वडाध्यक्ष सागरमान महर्जनले विद्यार्थीमार्फत सुरु भएको अभियानमा सबैले साथ दिनुपर्ने बताए। उनले आगामी दिनमा पनि विभिन्न सचेतनामूलक कार्यहरु गरी प्लास्टिकजन्य फोहोर मुक्त शहर बनाउन वडा कार्यालय र आम समुदाउबीच समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे।

विद्यार्थीमाफर्त सुरु भएको अभियानले विद्यालय, घरपविार र समाज हुँदै मुलुकभर नै सन्देश प्रवाह हुने अपेक्षा गरिएको छ। प्लास्टिक मुक्त शहर बनाउन विगत तीन वर्षदेखि तानसेनमा यस प्रकारको कार्यक्रम हुँदै आएको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया