तिनाउको सबैभन्दा कम बेरुजु

तानसेन। पाल्पाका दश स्थानीय तहमध्ये सबैभन्दा कम बेरुजु तिनाउ गाउँपालिकाको आएको छ । महालेखा परिक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९।८० को ६१ औ वार्षिक प्रतिवेदन अनुसार तिनाउ गाउँपालिकाको सबैभन्दा कम बेरुजु आएको हो ।

तिनाउ गाउँपालिकाको ९८ करोड १८ लाख ५५ हजार रुपैंयाको लेखापरिक्षण गर्दा पाल्पामा सबैभन्दा कम बेरुजु आएको हो । गाउँपालिकाको आर्थिक वर्ष २०७९।८० को बेरुजु रकम जम्मा ६९ लाख २७ हजार रुपैंया मात्र रहेको छ । तिनाउको यो बेरुजु ०.७१ प्रतिशत मात्र हो ।

गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले गाउँपालिकाले आर्थिक अनुशासन र नियममा रहेर योजना तथा कार्यान्वयन सञ्चालन गर्दा गाउँपालिकाको कम बेरुजु आएको बताए। गाउँपालिका अध्यक्ष श्रेष्ठले उक्त बेरुजु पनि प्रक्रियागत समस्याले आएको भन्दै त्यसलाई समाधान गर्नेतर्फ लाग्ने बताए। स्थानीय तहले बेरुजु घटाएर मात्र योजना तथा कार्यक्रम सञ्चालन गर्दा आर्थिक वृद्धिदर बढाउन सकिने उनले बताए।

पाल्पामा सबैभन्दा धेरै बेरुजु पूर्वखोला गाउँपालिकाको रहेको छ । पूर्वखोलाको गत आर्थिक वर्षमा सात करोड १७ लाख २५ हजार अर्थात ५.७४ प्रतिशत बेरुजु रहेको छ । त्यस्तै गत आर्थिक वर्षमा निस्दी गाउँपालिकाको ५ करोड ८ लाख ६६ हजार अर्थात ३.३३ प्रतिशत, माथागढी गाउँपालिकाको ४ करोड १ लाख ९४ हजार अर्थात २.७९ प्रतिशत, रम्भा गाउँपालिकाको २ करोड ३८ लाख ५४ हजार अर्थात २.०१ प्रतिशत, तानसेन नगरपालिकाको ३ करोड २ लाख ३३ हजार अर्थात १.७९ प्रतिशत बेरुजु रहेको छ ।

त्यस्तै गत आर्थिक वर्षमा रामपुर नगरपालिकाको २ करोड १६ लाख ९४ हजार अर्थात १.२७ प्रतिशत, रैनादेवी छहरा गाउँपालिकाको १ करोड ४३ लाख ३४ हजार अर्थात १।२३ प्रतिशत, त्यस्तै रिब्दीकोट गाउँपालिकाको ९३ लाख ८६ हजार अर्थात १.०७ प्रतिशत र बगनासकाली गाउँपालिकाको ९८ लाख ७९ हजार अर्थात १.०१ प्रतिशत बेरुजु रहेको महालेखा परिक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया