काठमाडौं। देशभर मनसुन सक्रिय हुँदा पछिल्लो २४ घण्टामा विभिन्न जिल्लामा ४४ वटा विपद्जन्य घटना घटेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उक्त घटनामा हालसम्म १४ जनाको मृत्यु पुष्टि भएको छ । यस्तै घटनामा परी अहिलेसम्म दुई जना बेपत्ता रहेका छन् । प्राधिकरणबाट आज साँझ प्राप्त विवरणअनुसार पहिरोबाट आठ जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । यस्तै चट्याङबाट पाँच जनाको मृत्यु र तीन जना घाइते भएका छन् । बाढीबाट एक जनाको मृत्यु र दुई जना बेपत्ता भएका छन् । एक जना घाइते छन् ।
प्राधिकरणका प्रवक्ता उपसचिव डा. डिजन भट्टराईका अनुसार घटनामा १० जना घाइते भएका र सबै क्षेत्रमा गरेर १९ लाखभन्दा बढी आर्थिक क्षति भएको छ । विभिन्न क्षेत्रका १० ठाउँमा सडक अवरुद्ध भएको र १४ वटा पशु चौपायको क्षति भएको उनले बताए ।
बुधबार नै ओखलढुङ्गाको चिसङ्खुगढी गाउँपालिका सेर्नाथुम्कीमा गएको पहिरोमा परी घाइते भएका दुई जनाको हेलिकप्टरबाट उद्धार गरी काठमाडौँ ल्याइएको थियो ।
विपद्ले बुधबार मात्रै ओखलढुङ्गा, सङ्खुवासभा, सुनसरी, उदयपुर, इलाम, धनकुटा, लमजुङ, कास्की, मोरङ, झापा, रोल्पा, दैलेख र बागलुङ बढी प्रभावित भएको प्राधिकरणले जनाएको छ ।

