
तानसेन। रामपुर नगरपालिकामा मेयरसंग बालबालिका कार्यक्रम सम्पन्न भएको छ । बालबालिकाको समस्या पहिचान गर्नुका साथै आवश्यक कार्यक्रम सञ्चालन गर्न र सुझाव संकलन गर्ने उद्देश्यका सहित कार्यक्रम भएको हो ।
दरैठाँटी माध्यमिक विद्यालय रामपुर-६ विजयपुरको सभाहलमा भएको कार्यक्रममा नगर भित्रको विद्यालयमा अध्ययनरत बालबालिकासंग नगर प्रमुख रमण बहादुर थापाले अन्तरक्रिया गरे ।
कार्यक्रममा सहभागी बालबालिकाहरुले शिक्षा क्षेत्रमा आगामी वर्ष हुने कार्यक्रम, असहाय बालबालिकाको लागि नगरको सहयोग, विज्ञान तथा प्रविधि क्षेत्रमा बालबालिकाको प्रतिभा प्रस्फुटनमा नगर लिएको नीति, लागुपदार्थ दुव्र्यासनी न्यूनिकरण, प्रविधि मैत्री शिक्षालगायतका विषयमा आफ्ना जिज्ञासा राखेका थिए ।
अन्तरक्रियामा भूपू सैनिक राईजिङ्ग इङ्गलिश स्कुलका मनिषा नेपालीले नगर पालिकाबाट निजी विद्यालयको अनुगमन हुनुपर्ने, कार्यक्रमहरु समय मै हुनुपर्ने सुझाव राखे।
दरैठाँटी माविका विद्यार्थी सृष्टि खनालले अभिभावक विहिन असहाय बालबालिकाको संरक्षणमा ध्यान दिनुपर्ने बताइन् । सोही विद्यालयका सुप्रिया पोखरेल, आकृति भण्डारी, निकिता ढकाल र अविशा भट्टराईले लागुपदार्थ दुव्र्यासनी, मोबाईल फोनको दुरुपयोगबाट सचेत गराउन सचेतना कार्यक्रममा जोड दिनु पर्ने बताए।
शहिद बहुमुखी क्याम्पसका रेशम कुमारी नेपालीले समय अनुसार प्रोजेक्टरको माध्यमबाट शिक्षण गर्ने विधि लागु गर्दै जानु पर्ने बताए।
भुपु सैनिक राईजिङ्ग स्कुलका सक्षम बस्ताकोटीले विज्ञान प्रविधिको प्रयोग गरी नयाँ सामाग्रीको अनुसन्धान र आविष्कारका लागि विद्यार्थीलाई नगरपालिकाले प्रोत्साहनका कार्यक्रम गर्नु पर्ने बताए।
बालबालिकाको प्रश्न र जिज्ञासा मेटाउँदै नगर प्रमुख थापाले बालबालिका भविष्यको आधार भएकाले उनीहरुको समस्या र धारणा बुझ्न कार्यक्रम गरिएको जानकारी दिए। उनले पूर्वाधार विकाससंगै बालबालिकाको शिक्षाका लागि नगरपालिका प्रतिबद्ध भएर लागेको बताए।
असहाय बालबालिकाको संरक्षणका लागि नगरपालिकाले आफ्नो तर्फबाट र अन्य संघ संस्थासंग समन्वय गरेर कार्यक्रम सञ्चालन गर्दै आएको बताउदे नगर प्रमुख थापाले वि.स. २०७४ पछि जन्मिएका नानीहरुलाई स्नातकोत्तरसम्म नगरपालिकाले निःशुल्क शिक्षाको प्रदान गर्ने नीति लिएको जानकारी दिए।
आर्थिक अभावमा कोही पनि बालबालिका शिक्षा बाट वञ्चित हुनु नपर्ने बताउदै उनले बालबालिकाको सुझावलाई पूर्ण पालना गर्दै नगरपालिका अघि बढ्ने बताए।
छात्रवृत्ति वितरण
कार्यक्रमको अवसरमा नगरपालिकाले ३ जना बेसाहारा बालबालिकाहरुलाई बाल उद्धार कोष मार्फत २० हजार प्रदान गरिएको थियो । साथै कार्यक्रममा वडा नं. १, ९ र १० बाहेक नगर भित्रका २१ वटा सामुदायिक विद्यालय र १ वटा क्याम्पसका १ सय २४ विद्यार्थीलाई मेयर छात्रवृत्ती कार्यक्रम मार्फत छात्रवृति प्रदान गरिएको थियो ।
शहीद बहुमुखी क्याम्पस रामपुरमा भर्ना भएका २४ जना दलित समुदायका विद्यार्थीहरुलाई भर्ना शुल्क वापतको दुई लाख १६ हजार ६ सय प्रदान गरिएको नगर शिक्षा अधिकृत विकल काफ्लेले जानकारी दिए।
यस शैक्षिक सत्रको पहिलो चरणमा वडा नं. २, ३, ४, ५, ६ र ७ मा रहेका प्राथमिक तहको विद्यालयमा २÷२ जना, आधारभूत तहको विद्यालयमा ४।४ जना र मावि तहको विद्यालयमा ६÷६ जनालाई छात्र वृति प्रदान गरिएको हो ।
विद्यार्थी संख्या धेरै भएको विद्यालय रामतुलसी माविमा १४ जना र दरैठाँटी माविमा १० जनालाई छात्रवृति प्रदान गरिएको छ । साधारण तर्फ २ हजार ५ सय र उच्च प्राविधिक तथा विज्ञान संकायका विद्यार्थीलाई ४ हजारको दरले छात्रवृति प्रदान गरिएको काफ्लेले जानकारी दिनुभयो । बाँकी विद्यालयका विद्यार्थीहरुलाई दोस्रो चरणमा यहि शैक्षिक वर्ष भित्र रकम प्रदान गरिने नगरपालिकाले जनाएको छ ।
कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरुले आफ्नो प्रतिभा समेत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा गंगा माविका छात्रा हिमाली जिटी, रामतुलसी माविका छात्रा संञ्चिता थापा र शहीद बहुमुखी क्याम्पसका रेशम कुमारी नेपालीले शुभकामना मन्तव्य राख्दै नगरपालिका प्रति आभार व्यक्त गरे ।
नगर प्रमुख रमण बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रम उपप्रमुख बालकुमारी थापाको स्वागत र नगर शिक्षा अधिकृत विकल काफ्लेको सञ्चालनमा सम्पन्न भएको हो ।