पेट्रोल र डिजेलको मूल्य बढ्यो

तानसेन। सरकारले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ। नेपाल आयल निगमले सोमबार एक विज्ञप्ति जारी गर्दै मंगलबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोलको प्रति लिटरमा चार रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा तीन रूपैयाँको दरले मूल्य बढाएको जानकारी दिएको छ।

भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ मूल्यसूची तग गरेको हो। निगमका अनुसार आइओसीले पेट्रोलको भाउ लिटरमा चार रूपैयाँ ४८ पैसा र डिजेलको दुई रूपैयाँ ८३ पैसा बढाएर नयाँ मूल्य पठाएको छ।

निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ। निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ। पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन्।

 

यो क्षेत्रमा अब पेट्रोलको मूल्य १६८ रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ। डिजेल र मट्टीतेल लिटरको १५७ रूपैयाँ ५० पैसा पर्नेछ।

त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको मूल्य १७० रूपैयाँ प्रतिलिटर पर्नेछ। डिजेल र मट्टीतेल लिटरको १५९ रूपैयाँ पर्नेछ।

तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको मूल्य १७१ रूपैयाँ प्रतिलिटर पर्नेछ। डिजेल र मट्टीतेल लिटरको १६० रूपैयाँ पर्नेछ।

आयल निगमले अन्तर्राष्ट्रिय बजारबाट आफै कच्चा तेल खरिद गर्दैन। आइओसीबाट आफूलाई चाहिने सबै किसिमका प्रशोधित पेट्रोलियम पदार्थ खरिद गर्दै आएको छ। यसरी पेट्रोलियम किनेबापत् आइओसीले हरेक महिना पन्ध्र।पन्ध्र दिनमा आयल निगमलाई मूल्य पठाउँछ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको